सन् १९९८ मा करण जोहरको डेब्यू निर्देशन 'कुछ कुछ होता है' तात्कालिन समयका प्रेमिल युवाहरूको ढुकढुकीको सिनेमा बन्यो।
बलिउड सिनेमाप्रेमी युवा दर्शकहरूले करणको त्रिकोणात्मक प्रेमकथालाई खुबै मनपराए। सिनेमाको गीत पनि उत्तिकै मानिसको मनमा बस्यो।सो सिनेमाका गीत आज पनि श्रोतामाझ लोकप्रिय छन्।
पछिल्लो समय बलिउडमा रिमेकको सिलसिला राम्रो छ।
यस सिनेमाको रिमेकको चर्चा केहि समयदेखि राम्रोगरी चल्दै आएको छ। हाल सम्म सिनेमाको रिमेकका बारेमा कुनै किसिमको आधिकारिक घोषणा भएको छैन। यदि सिनेमाको रिमेक बनेमा यसका मूख्य भूमिकामा को कलाकारले अभिनय गर्ला?
बलिउड सिनेमाप्रेमीका लागि राम्रै प्रश्न हो, यो।
यस्तोमा सिनेमाका निर्देशक करण जोहरले यसको जवाफ दिएका छन्।
यतिबेला करण अस्ट्रेलियाको मेर्लबर्न शहरमा भइरहेको भारतीय सिनेमा महोत्सवमा छन्।
सो महोत्सवमा उनले रिमेक बनाइएमा को कलाकार कास्ट हुनेछन् भन्ने बारेमा खुलासा गरे।उनले रिमेक बनेमा राहुलको भूमिकामा रणवीर सिंह, अञ्जलीको भूमिकामा आलिया भट्ट तथा टीनाको भूमिकामा जाह्नवी कपुरलाई खेलाउने बताए।
उनले उनीहरूलाई छनौट गर्नुको कारण पनि दिएका छन्।
'मेरो इच्छा अनुसार राहुलको भूमिका रणवीर सिंहले गर्नेछन्। उनीमा शाहरूख जत्तिकै गहिराइ आइसकेको छ। आलिया भट्ट अञ्जली हुनेछिन किनकी उनीभित्र त्यो क्षमता छ र जाह्नवी कपुरले टीनाको रोल गर्नेछिन् किनकी त्यो भूमिकाका लागि चाहिने सन्तुलित र चञ्चलता उनमा छ', करणले भने।
अब करणले कसलाई लिने बारेमा खुलासा गरेपनि सिनेमाको रिमेकका बारेमा तत्कालका लागि उनमा कुनै सोच राखेका छैनन्।