हिन्दी सिनेमाका चर्चित संगीतकार खय्यमको सोमबार राती मुम्बईमा निधन भएको छ। उनको ९२ वर्षको उमेरमा निधन भएको हो।
हिन्दी सिनेमाका थुप्रै चर्चित गीतमा उनले संगीत भरेका छन्। 'उमराव जान', 'बाजार', 'खानदान' तथा 'कभी कभी' सिनेमाका लागि दिएका संगीतका लागि उनी सर्वाधिक चर्चित छन्। खय्यामको पूरा नाम जहूर खय्याम हाशमी हो।
३ दिन अगाडि फोक्सोमा संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। त्यसमा सुधार नआएपछि सोमबार राती उनको निधन भयो। खय्यामको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन्।
खय्यामको जन्म सन् १८ फरवरी, १९२७ मा अविभाजित पंजाबको नवांशहर जिल्लाको राहोनमा भएको थियो। पढाइमा ज्यादा मन नभएका खय्याम संगीतप्रेमी थिए। त्यसैका कारण उनी घरबाट भागेर दिल्ली आए।
उनी भागेर आएपछि परिवारले फेरि उनलाई फर्काएर पढाइ पूरा गराउन घर फिर्ता लगेका थिए। तर, घर फर्काइए पनि उनको मन संगीतमै थियो। घरपरिवारसँग उनको कुरा मिलेन, त्यसको केहि समयपछि उनी संगीत सिक्न उनी लाहोर गए।
त्यहाँ उनले बाबा चिश्तीसँग संगीतको ज्ञान लिए। पछि उनी फेरि दिल्ली फर्किए र पंडित अमरनाथको चेला बने।
दिल्लीमा संगीत सिकेपछि उनको बाटो मुम्बईतर्फ सोझियो। दोश्रो विश्वयुद्धपछि उनी दिल्लीबाट मुम्बई गए।
सन् १९४८ मा उनले 'हीर राझां' सिनेमामा संयूक्तरूपमा संगीत दिने मौका पाए। त्यस सिनेमाको संगीतले उनलाई चर्चा दिलायो।
त्यसपछि उनले सन् १९५३ मा पहिलो एकल संगीतकारको ब्रेक पाए। उनी 'फुटपाथ'बाट एकल संगीतकारका रूपमा अगाडि आए।
'फुटपाथ'मा संगीत भरेपछि उनको सांगीतिक यात्राले लय समात्यो।
उनले त्यसपछि 'फिर सुबह होगी', 'शोला और शबनम', 'कभी कभी', 'त्रिशूल','खानदान', 'नूरी', 'बाजार', 'उमराव जान', 'रजिया सुल्तान', 'आहिस्ता आहिस्ता' र 'दर्द' जस्ता सिनेमामा आफ्नो जादुमयी संगीत दिए।
संगीतका लागि उनले राष्ट्रिय पुरस्कारसमेत जितेका छन्। यसका अलावा 'कभी कभी' र 'उमराव जान'का लागि फिल्म फेयर अवार्ड जितेका छन्। सन् २०१० मा उनलाई दीर्घ साधना सम्मान दिइएको थियो।
यस्तै उनी सन् २०११ मा भारत सरकारले प्रदान गर्ने तेश्रो सर्वोच्च सम्मान पद्मभूषणबाटसमेत सम्मानित छन्। त्यस्तै उनलाई सन् २०१८ मा पंडित हृदयनाथ मंगेशकर सम्मानबाट सम्मानित गरियो।