बलिउडमा त्यसो त आमिर खानलाई 'मिस्टर परफेक्सनिस्ट मानिन्छ। धेरैका लागि उनी प्रेरणाको श्रोत हुन्।
कमैलाई थाहा हुनुपर्छ उनी पनि कोहीकसैबाट प्रेरणा लिन्छन्, भनेर। आमिर खान दक्षिण भारतीय तेलेगु सिनेमाका सुपरस्टार चिरञ्जीवीलाई आफ्नो प्रेरणा मान्छन्।
उनै चिरञ्जीवीको आज जन्मदिन हो। चर्चित अभिनेता रामचरणका पिता चिरञ्जीवी आज आफ्नो ६४ औं जन्मदिन मनाउँदैछन्।
चिरञ्जीवी दक्षिण भारतीय सिनेमाका ती अभिनेतामा पर्छन् जसले हिन्दीभाषी दर्शकमाझ दक्षिण भारतीय सिनेमालाई परिचित गराए। उनले तेलेगु सिनेमाका अलावा तमिल, कन्नड तथा हिन्दी सिनेमामा समेत काम गरेका छन्।
आफ्नो करियरमा लगातार १४ ब्ल्कबस्टर सिनेमा दिएर सुपरस्टार बनेका चिरञ्जीवी सिनेमा जत्तिकै राजनीतिमा पनि सफल रहे। उनी सन् २०१२ देखि लिएर सन् २०१८ सम्म पर्यटनमन्त्री बने। यसका अलावा उनी सो समय राज्यसभा सदस्यका रूपमा समेत कार्यरत रहे।
चिरञ्जीवी नाम बाट दर्शकमाझ अत्याधिक लोकप्रिय उनको खास नाम भने कोणीदेल शिव शंकर वर प्रसाद हो।
उनले सन् १९७९ मा 'पुनाधिरल्लू' सिनेमाबाट आफ्नो करियर सुरू गरेका हुन्। सन् १९८० मा उनले १४ ब्लकबस्टर सिनेमा दिएला थिए।
सिनेमाको चर्चापछि राजनीतिमा होमिएपनि उनको सिनेमायात्रामा विराम लागेको छैन। उनी अभिनित ऐतिहासिक सिनेमा 'सई रा नरसिम्हा रेड्डी' सिनेमा अक्टुवर २ मा रिलिज हुँदैछ।
उनको यो सिनेमा एकसाथ तेलेगु, तमिल, कन्नड र हिन्दी भाषामा रिलिज हुँदैछ। सो मितिमा बलिउडको ठूलो मानिएको 'वार' सिनेमासमेत रिलिज हुँदैछ। सिनेमाको हिन्दी डबलाई फरहान अक्तरले वितरणको जिम्मा लिएका छन्। त्यसकारण यो मितिमा उनले वक्सअफिसमा टाइगर श्रफ र ऋतिक रोशनसँग भिडन्त गर्नेछन्।
उनको यस सिनेमामा अमिताभ बच्चनले पनि अभिनय गरेका छन्। सिनेमाको टिजर सार्वजनिक भइसकेको छ र सो टिजरलाई दर्शकहरूले मनपराइरहेका छन्।