तेलेगु फिल्म 'अर्जुन रेड्डी'का नायक विजय देवराकोंडाले ‘फाइटर’ नामक अर्को फिल्म खेल्ने भएका छन्। निर्देशक पुरी जगन्नाथको निर्देशनमा यो फिल्म बन्न लागेको हो।
यसअघि विजयले 'अर्जुन रेड्डी' नामक तेलेगु फिल्म खेलेका थिए, जसको रिमेकमा शाहिद कपुर स्टारर 'कबिर सिंह' बनेको थियो। विजयलाई 'कबिर सिंह'का लागि करण जोहोरले ४० करोडको प्रस्ताव राखेका थिए, तर उनले सो प्रस्तावलाई अस्वीकार गरेका थिए।
अहिले पुरी जगन्नाथको फिल्म 'फाइटर'मा विजय खेल्ने तयारी गर्दै छन्। उक्त फिल्मको नाम तोकिए पनि त्यसको प्रदर्शनीको मिति भने तोकिएको छैन।
निर्देशक जगन्नाथले अमिताभ बच्चनको प्रमुख भूमिका रहेको चर्चित फिल्म 'बुढ्ढा होगा तेरा बाप' बनाइसकेका छन्। साथै बक्स अफिसमा हिट भएको ''आइ स्मार्ट शंकर' फिल्म पनि निर्देशन गरेका हुन्।
यस वर्षको अन्त्यमा आउने फाइटरमा जगन्नाथका साथी चार्मी कौर निर्माताका रुपमा रहेका छन्। अहिले विजय दुई फिल्मको काममा व्यस्त छन्।
विजयको पछिल्लो फिल्म 'डियर कमरेड' ४ भाषामा प्रदर्शन भएको थियो। साथै 'ट्याक्सीवाला' र गीता गोविन्दा फिल्म हिट भएपछि उनी अर्को फिल्म हिट बनाउने प्रयासमा छन्।