बलिउडका कयौं अभिनेतालाई आफ्नो वास्तविक उमेर भन्दा कम उमेरको भूमिका गर्ने गरेको आरोप लाग्ने गरेको छ।
यस्तै आफूभन्दा कम उमेर र धेरैजसो मामिलामा आफ्ना छोरीको उमेरका नायिकासँग पर्दामा रोमान्स गर्ने गरेको आरोप लाग्दै आएको छ।
हुन पनि सलमान खान, शाहरूख खान, सैफअलि खान, आमिर खान, अक्षयकुमारले यस्तै गर्दै आइरहेका छन्।
समान उमेर भएका अभिनेत्रीहरू उमेर अनुसारको भूमिकामा अभिनय गर्न थाल्दा अभिनेताहरू भने आफूभन्दा धेरै कम उमेरका नायिकाहरूसँग रूखको वरीपरी नाच्दै रोमान्स गरिहेका छन्।
यस मामिलामा अभिनेता सुनिल शेट्टी भने फरक हुने भएका छन्।
आफ्नो नयाँ सिनेमा 'पहलवान'को प्रचारमा रहेका सुनिलले आफ्नो उमेर अनुसारको भूमिका निभाउनु राम्रो भएको बताएका छन्।
पछिल्लो पटक सन् २०१४ मा 'देशी कट्टे'मा देखिएका सुनिल यतिबेला कन्नड सुपरस्टार खिचा सुदिपको कन्नड सिनेमा 'पहलवान'बाट दर्शकमाझ आउँदैछन्।
केहि दिन अगाडी सो सिनेमाको ट्रेलर रिलिज समारोहमा बोल्दै उनले अब आफू आफ्नो उमेर अनुसारको भूमिकामा काम गर्ने बताएका हुन्।
'म सिनेमामा सुदिपको प्रशिक्षकको भूमिकामा छु, जो सिनेमामा नायकका लागि पिता समान हुन्। म यस्तै शान्त र गम्भिर भूमिकामा अभिनय गर्न चाहन्थे। आफ्नो उमेर अनुसारको भूमिकामा काम गर्नु सँधै राम्रो र सहज हुने मेरो बुझाइ रहँदै आएको छ', ५८ वर्षिय सुनिलले भने।
उनले लामो समयपछि यस्तो भूमिका निभाउन पाउँदा आफूलाई खुशी लागेको बताए।
हुन पनि हो सुनिलकी छोरी आथिया सेट्टी बलिउड नायिका बनेर डेब्यू भइसकेकी छन् भने उनका छोरा पनि हिरोको रूपमा बलिउडमा डेब्यू गर्ने तयारीमा रहेका छन्।
सिनेमा १२ सेप्टेम्बरमा रिलिज हुँदैछ। सिनेमा तमिल, हिन्दी, मलयालम तथा तेलेगुमा समेत रिलिज हुँदैछ।