'बाहुबली'ले कमाइदिएको अभिनेता प्रभासको लोकप्रियता उनको नयाँ रिलिज 'साहो'मा देखिएको छ।
सिनेमा महँगो रकममा नेपाल भित्रिएको छ।
सिनेमाका नेपाल वितरक मनोज राठीले 'साहो' ल्याउन करिब १ करोड २० लाख भारू खर्च भएको स्वीकार गरेका छन्। सेतोपाटीसँग कुरा गर्दै सिनेमाको नेपाल वितरण अधिकार महँगो परेको स्वीकार गरे।
'बाहुबली' सिरिज सिनेमापछि दक्षिण भारतीय तेलेगु सिनेमाका सुपरस्टार प्रभासको नेपाली दर्शकमाझ राम्रो लोकप्रियता रहेको छ। उनको लोकप्रियता कारण नै सिनेमा ल्याउन नेपाली वितरकबीच धेरै प्रतिष्पर्धा भएकाले सिनेमा महँगो रकममा नेपाल भित्रिएको हो।
महँगोमा नेपाल ल्याइएको 'साहो'लाई नेपाली हलहरू, त्यसमा पनि विशेष गरी मल्टिप्लेक्सहरूले उच्च संख्यामा शो दिएका छन्।
मल्टिप्लेक्समा सिनेमाको बुकिङ विशेषगरी काठमाडौं उपत्यकामा उच्च रहेको छ।
नेपालमा सर्वाधिक पर्दाको चेन भएको क्यूएफएक्स सिनेमाज्ले आफू अन्तरगतका पर्दामा 'साहो'लाई ६१ शो दिएको छ। उपत्यकामा मात्रै सिनेमाले ३७ शो पाएको छ।
यस्तै बिग मुभिजले शुक्रबार आफ्नो ३ पर्दामा १५ शो उपलब्ध गराएको छ। उसले बिहान ७ बजेदेखि शो राखेको छ।
यस्तै चाबहिलमा रहेको ३ पर्दाको मल्टिप्लेक्स एफक्यूब बिग मुभिज भन्दा एककदम अगाडि देखिएको छ। उसले बिहान साढे ६ बजेदेखि नै सिनेमाको शो राखेको छ। एफक्युबमा 'साहो'को १३ शो छ।
'साहो' नेपालका करिब सय हलमा एकसाथ लाग्दैछ। सिनेमाले रिलिजको दिन १ करोड नेपाली हाराहारीको व्यापार गर्ने अनुमान छ।
सिनेमा भारतमा पनि एक साथ चार भाषामा करिब १० हजार पर्दामा रिलिज हुँदैछ। सिनेमा करिब ३५० करोड भारूको बजेटमा तयार भएको हो।