अभिनेता अक्षय कुमारले आइतबार एक व्यक्तिलाई भेटे। उनी छक्क परे। सँगै खुसीले गदगद। ती व्यक्ति अक्षयका फ्यान थिए, सामान्य होइन। किनकी, ती फ्यान अक्षयलाई भेट्नै भनेर ९ सय किलोमिटर हिँडेका थिए।
हिन्दुस्तान टाइम्सका अनुसार द्वारिकाबाट हिँडेर आएका पर्वत नामका ती फ्यान हिँडेर मुम्बईसम्म आएका हुन्। आइतबार बिहान पर्वतको भेट अक्षयसँग भएको थियो।
अक्षयले यो भेटबारे इन्स्टाग्राममा लेखेका छन्, 'द्वारिकाबाट आएका पर्वतलाई भेटेँ। ९ सय किलोमिटरभन्दा बढी हिँडेर आएका छन्। १८ औं दिनमा मलाई भेट्ने उनको योजना सफल भएको छ। यस्तै योजना र प्रतिबद्धता हाम्रा युवाहरूले लिने हो भने हामीलाई केहीले रोक्दैन।'
पर्वतलाई चिनेका जानेकाहरूले अक्षयको पोस्टमा कमेन्ट गर्दै पर्वत आफ्नो लक्ष्य पूरा गर्न केही रात नसुती हिँडेको बताएका छन्।
अक्षयले पर्वतलाई भेटेपछि सोधेका थिए, 'मलाई आइतबार घरमै भेट्छु भन्ने कसरी थाहा पायौ?'
पर्वतले भनेका थिए, 'मलाई थाहा छ सर, म तपाईंको फ्यान हुँ।'
अक्षय कुमार आफ्ना फ्यान देखेर दंगदास छन्।
उसो त अक्षय आफ्नो फिल्म 'मिसन मंगल' को सफलताले पनि निकै खुसी छन्। यही साल उनको 'केसरी' पनि हिट भएको थियो।
उनको करिना कपुर, दिलजित दोसाँझ र कियारा अड्वानीसँगको 'गुड न्युज' फिल्म आउँदैछ। योसँगै रोहित सेट्टीको 'सूर्यवंशी' र 'हाउसफुल-४' मा देखिनेछन्। त्यस्तै 'कञ्चना-२' फिल्मको हिन्दी रिमेक 'लक्ष्मी बम्ब' मा पनि उनी देखिँदैछन्।
अक्षयले आफ्ना फ्यान पर्वतको प्रशंसा गरे पनि अरू फ्यानहरूलाई यस्तो काम नगर्न सुझाएका छन्। यसरी बिताउने समय बरू कुनै उत्पादनशील काममा प्रयोग गर्न उनले भनेका छन्।
'तपाईं (फ्यान)हरूलाई भेट्नु सधैं खुसीको कुरा हो। तपाईंहरूले दिएको मायाका लागि म सधैं आभारी छु। तर कृपया यसरी आफ्नो समय र ऊर्जा खेर नफ्याँक्नुहोस्। आफ्नो जीन्दगी बनाउन खर्चिनुहोस्।'