हिन्दी फिल्म 'अंधाधुन' ले भारतको ६६ औं राष्ट्रिय फिल्म पुरस्कारमा उत्कृष्ट फिल्मको उपाधि जितेको छ। आयुष्मान खुराना, तब्बु र राधिका अप्टेको मुख्य भूमिका रहेको फिल्म 'अंधाधुन' ले सन् २०१८ का लागि पुरस्कार जितेको हो। योसँगै उत्कृष्ट फिचर फिल्मको उपाधि गुजराती फिल्म 'हेल्लोरे' ले पाएको छ।
'अंधाधुन' श्रीराम राघवनको निर्देशन गरेका हुन्।
उत्कृष्ट अभिनेताको पुरस्कार दुई जनालाई दिइएको छ। 'अंधाधुन'कै लागि आयुष्मान खुराना र 'उरी- द सर्जिकल स्ट्राइक' का लागि विक्की कौशलले उत्कृष्ट अभिनेताको उपाधि जितेका हुन्।
त्यस्तै तेलेगू फिल्म 'महानटी' बाट कीर्ति सुरेश उत्कृष्ट अभिनेत्री भएकी छन्।
अंधाधुन भारतसँगै चीनमा पनि सुपरहिट भएको फिल्म हो। कम बजेटमा बनेको फिल्मले भारतमा दुई सय करोड भारू हाराहारी र चीनमा झण्डै तीन सय करोड भारू कमाउन सफल भएको थियो। फिल्ममा आयुष्मानले पियानोवादकको भूमिका निर्वाह गरेका छन्। उनी आँखा देख्न सक्ने हुन् वा होइनन् भन्ने विषयमा केन्द्रित रहेर फिल्म अगाडि बढेको छ।
भियाकम १८ मोसन पिक्चर्स र म्याचबक्स पिक्चर्सले निर्माण गरेको 'अंधाधुन' चीनमा भने 'द पियानो प्लेयर' नाममा रिलिज भएको थियो।
आयुष्मान खुरानाले राष्ट्रिय पुरस्कार जितेपछि खुसी व्यक्त गर्दै आफ्नो मिहेनतले यहाँसम्म ल्याइपुर्याएको बताएका छन्।
आदित्य धरद्वारा निर्देशित फिल्म 'उरी' ले उत्कृष्ट निर्देशनको पुरस्कार पनि पाएको छ।
सहायक अभिनेतातर्फ मराठी फिल्म 'चुम्बक' का लागि स्वानंद किरकिरेले पुरस्कार पाएका छन्। सुधा सीकरीले हिन्दी फिल्म 'बधाइ हो' का लागि सहायक अभिनेत्रीको पुरस्कार पाएकी छन्।
उत्कृष्ट संगीत निर्देशनको पुरस्कार 'पद्मावत' फिल्मका लागि संजय लीला भन्सालीले जितेका छन्। गायकको पुरस्कार पनि 'पद्मावत' कै लागि अरिजीत सिंहले जितेका छन्।