सामाजिक सञ्जालबाट भाइरल भएकी रानु मोन्डलको चर्चा चुलिँदो छ। भारतको रानाघाट रेलवेस्टेसनमा गीत गाएर जीविका चलाउँदै आएकी रानु अहिले बलिउड गायिका भइसकेकी छन्। हिमेश रेशमियाको फिल्म 'ह्याप्पी हार्डी एन्ड हीर' मा उनले स्वर दिएकी छन्।
'रानाघाटकी लता मंगेशकर' उपाधि पाएकी रानुबारे दिनदिनै नयाँ जानकारी सार्वजनिक भइरहेका छन्। केही दिनअघि उनकी छोरी स्वाती वर्षौंपछि उनलाई भेट्न आएकी थिइन्।
रानुका बारेमा भन्नुपर्दा उनी आफ्ना श्रीमानको निधनपछि मुम्बईबाट रानाघाट आएको बताइन्छ।
भारतीय सञ्चारमाध्यम एनडिटिभीले लेखेअनुसार हालै रानुले आफ्ना बारेमा केही रोचक जानकारी दिएकी छन्। रानुका अनुसार उनको जन्म राम्रै परिवारमा भएको थियो। आफू ६० वर्ष पुगेको बताउँदै रानुले केही कारणवश् आफ्नो परिवारबाट अलग भएको बताएकी छन्।
'मेरो जीन्दगीको कथा लामो छ। मेरो जीवनकथाकै आधारमा फिल्म बन्न सक्छ। र यो राम्रो फिल्म हुनेछ,' रानुले आइएनएस मिडियासँग भनेकी छन्, 'मेरो जन्म फुटपाथमा भएको होइन। मेरो परिवार राम्रो थियो तर भाग्य खराब रहेछ। म छ महिनाकी हुँदै आफ्नो परिवारसँग अलग भएकी थिएँ।
रानुका अनुसार उनको पालनपोषण उनकी हजुरआमाले गरेकी हुन्। त्यस्तै आफ्नो बिहे बलिउड अभिनेता स्वर्गीय फिरोज खानको घरमा कुक काम गर्ने केटासँग भएको उनले बताएकी छन्। श्रीमानले नै उनलाई मुम्बई ल्याएका थिए। परिवारमा समस्या बढेपछि आफ्नो संघर्ष बढेको उनले बताएकी छन्।
'बिहे गरेर म मुम्बई आएँ। मेरा श्रीमान फिल्मस्टार फिरोज खानको घरमा कुक हुनुहुन्थ्यो। त्यो बेला फिरोजका छोरा फरदीन कलेज पढ्थे। उनीहरू हामीलाई राम्रो व्यवहार गर्थे। परिवारकै सदस्य झैं मान्थे। त्यो बेला हाम्रो जीवन रमाइलो थियो। हामी खुसी थियौं,' उनले भनेकी छन्।
तर पछि उनीहरू पारिवारिक कारणले गाउँ नै फर्किनु परेको उनले बताएकी छन्।
रानाघाट स्टेसनमा 'एक प्यारका नग्मा है' गाउँदै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै रानु चर्चित भएकी थिइन्। मिठो स्वरकी उनलाई धेरैले चर्चित गायिका लता मंगेशकर 'जस्तै' भने। रानु आफैंले पनि लताबाट प्रेरित भएको बताएकी थिइन्।
उनको भिडिओ र स्वर दुवै हिट भएको केही दिनपछि उनको खोजी हुन थाल्यो। कसैले उनलाई भेट्यो र बाटामा बस्दै आएकी रानुको साफसफाइ र श्रृंगार भयो। उनको स्वरझैं सुन्दरता पनि निखारियो। सामाजिक सञ्जालले उनलाई खुबै शुभकामना दिए।
आफ्नो स्वरको जादूले रानुले धेरैको मन जितिसकेकी थिइन्। तर उनको कमाल यतिमै सीमित भएन। रानु टेलिभिजन कार्यक्रम 'सुपरस्टार सिंगर'मा देखिइन्। यहीँ उनको जीवनमा नयाँ मोड दिने व्यक्ति पनि थिए– गायक तथा संगीतकार हिमेश रेशमिया।
कार्यक्रमको निर्णायकका रूपमा रहेका हिमेशले रानुको स्वर सुनेपछि आफू निकै प्रभावित भएको बताए। उनको स्वरको तारिफ गर्दै उनलाई 'काम दिने' बताएका थिए। गाएर पाएको पैसा र जिन्सीले धानिँदै आएकी रानुले नयाँ जीवनसँगै हजारौं फ्यान पनि कमाइसकेकी छन्। सामाजिक सञ्जालहरूमा उनका निम्ति शुभकामना र मायाका सन्देशहरू देख्न सकिन्छ।
रानु भन्छिन्, 'म धेरै खुसी छु। पाँच-छ वटा गीत रेकर्ड गरिसकेको छु।'