भारतीय सञ्चारमाध्यममा अहिले रानु मोन्डलको चर्चा कुनै चर्चित सेलेब्रेटीको भन्दा कम छैन। उनले के गरिन्, कोसँग भेटिन् देखि अरू कलाकारले उनका बारेमा के भनिरहेका छन् भन्ने चासोले सञ्चारमाध्यममा स्थान पाएका छन्।
रानुको चर्चा नहोस् पनि कसरी, पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा गीत गाउँदै भिक मागेर गुजारा चलाउने रानु रातारात सेलेब्रेटी बनेकी छन्। उनले ‘एक प्यारका नग्मा है’ गाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै उनी टिभी र सञ्चारमाध्यममा छाएकी हुन्।
गायक तथा संगीतकार हिमेश रेशमियाले रानुलाई आफ्नो फिल्ममा गाउने अवसर दिए। उनले अहिलेसम्म पाँच–छ वटा गीत रेकर्ड गराइसकेको बताएकी छन्। बाटामा मागेर गुजारा गर्दै आएकी ६० वर्षीया रानुको बदलिएको जीवनका लागि धेरैलाई शुभकामना दिएका छन्। उनलाई ‘रानाघाटकी लता मंगेशकर’ भन्दै प्रशंसकहरूले खुबै सरहाना गरेका छन्।
यही विषयमा भारतकी ‘लेजेन्ड’ गायिका लता मंगेशकरले दिएको प्रतिक्रियामा भने धेरैले असन्तुष्टि जनाएका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार लता मंगेशकरलाई उनकै गीत गाएर चर्चा कमाएकी रानुका बारेमा सोधिएको थियो।
यसबारे लता मंगेशकरको भनाइ उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ– यदि मेरो नाम र कामबाट कसैलाई राम्रो हुन्छ भने म आफूलाई भाग्यमानी ठान्छु। तर मलाई यो पनि लाग्छ, सफलताका निम्ति नक्कल गरेको काम भरपर्दो र दिगो हुँदैन। किशोरदा (कुमार) वा रफी साब (मोहम्मद रफी) वा आशा (भोस्ले) वा अरू कसैका गीत गाएर सम्भावना भएका र नयाँ गायकहरूले आफूतिर ध्यान बटुल्न सक्छन्। तर त्यो छोटो हुन्छ। यो सफलता लामो समय रहँदैन।
९० वर्षीया लता मंगेशकरले टिभीमा आउने सांगीतिक प्रतियोगिताहरूबारे पनि चिन्ता व्यक्त गरेकी थिइन्।
‘धेरै बच्चाहरू मेरो गीत एकदमै राम्ररी गाइरहेका देखिन्छन्, तर तीमध्ये कतिले सफलता हासिल गरे खै? सफल हुनेमा मैले चिनेका त सुनिधी चौहान र श्रेया घोषाल मात्र हुन्।’
लताले नयाँ र सम्भावना भएका गायकहरूलाई सुझाव दिँदै भनेकी छन्, ‘मौलिक हुनुहोस्। म र मेरा साथीहरूले गाएका गीतहरू गाउनुहोस्, तर कुनै एक विन्दुमा पुगेपछि हरेक गायकले आफ्नो मौलिक गीतमै आफूलाई चिनाउन सक्नुपर्छ।’
लताले यसबारे आफ्नै बहिनी आशा भोस्लेको उदाहरण दिएकी छन्।
‘यदि आशाले आफ्नै शैलीमा गाउन बल नगरेको भए उनी सधैं मेरो छाया मात्र भएर बस्थिन् होला। आफ्नो मौलिक शैली र पहिचान खोज्नुपर्छ भन्नेको सबभन्दा ठूलो उदाहरण हुन् आशा। आज उनी जहाँ छन्, उनकै मौलिकता र खुबीका कारण छन्।’
लताले सबैलाई आफ्नो पहिचान खोज्ने सन्देश दिएको भए पनि रानु मोन्डलका प्रशंसकहरूले नराम्रो मान्दै सामाजिक सञ्जालमा असन्तुष्टि देखाएका छन्।
लता मंगेशकरको टिप्पणी चित्त नबुझेको भन्दै सामाजिक सञ्जालमा यस्ता प्रतिक्रिया आएका छन्–
– म लता मंगेशकरको ठूलो फ्यान हुँ। तर ठूला मान्छेहरू साना मान्छेलाई कस्तो व्यवहार गर्छन् भन्ने कुरा उनको प्रतिक्रियाले प्रस्ट पारिदियो।
–रेलवे स्टेसनमा गाउने गरिब महिला मीठो स्वरका कारण चर्चित भइन्। लताजीले उनको तारिफ गर्न सक्नुहुन्थ्यो, मद्दत गर्न सक्नुहुन्थ्यो। ‘नक्कल’ का बारेमा उहाँले गरेको टिप्पणी बेकार छ।
लताको प्रतिक्रिया मननपराउने धेरै देखिएका छन्। रानु मोन्डलले साँच्चै प्रशंसकहरू पाएकी छन् भन्ने यसबाट पनि प्रस्टिन्छ।
पछिल्लो समय उनको चर्चासँगै उनका जीवनका पाटाहरू पनि खुल्ने क्रममा छन्। गत सातामात्र वर्षौंदेखि भेट नभएकी उनकी छोरी एलिजावेद स्वाती भेट्न आएकी थिइन्। आमाछोरीको हँसिलो तस्बिर सामाजिक सञ्जालमा छाएको थियो।
रानुका धेरै प्रशंसकले एलिजावेदलाई आमा गरिब हुँदा छाडेको र अहिले चर्चा पाएपछि भेट्न आएको आरोप लगाएका छन्। रानुले यसबारे केही नभने पनि एलिजावेदले विभिन्न सञ्चारमाध्यममा आफ्नो बचाउ गर्दै आएकी छन्।
एलिजावेदले रानु धेरै वर्षअघि नै डिप्रेसनको रोगी भएको बताउँदै आएकी छन्। साथै रानु आफ्नो घरमा बस्न नसकेका कारण आफैं हिँडेको उनको भनाइ छ। आफ्नो एक बच्चाको लालनपालनका लागि आफू एक्लैले जिम्मेवारी बहन गर्दै आएकाले आमाका लागि धेरै ध्यान दिन नसकेको उनले बताएकी छन्।
उनले रानुका दुई बिहे भएको र उनका अरू छोराछोरी रहेको पनि बताउँदै आएकी छन्। तर यसबारे पनि रानुले केही भनेकी छैनन्।
केही दिनअघि उनले आफ्ना बारेमा जानकारी दिएकी थिइन्। रानुका अनुसार उनी राम्रै परिवारमा जन्मेकी हुन् र हजुरआमासँग हुर्केकी थिइन्। बिहेपछि मुम्बई आएको बताउँदै उनले आफ्ना श्रीमान बलिउड अभिनेता फिरोज खानको घरमा कुक काम गर्थे भनेकी थिइन्। पछि पारिवारिक समस्याका कारण आफ्नो जीवन संघर्षमय भएको उनको भनाइ छ।
रानु र उनकी छोरी एलिजावेदका धेरै कुरा बाझिँदै आएका छन्। रानुको भिडिओ सामाजिक सञ्जालमा राख्ने अतिन्द्र चक्रवर्तीलाई पनि एलिजावेदले ‘रानुलाई प्रयोग गरेको’ आरोप लगाएकी छन्। अतिन्द्र र उनका साथीले रानुको सच्चा मनले हेरचाह नगरेको र चर्चाका लागि उनको साथमा रहेको भनेकी छन्। उनले अतिन्द्र र उनका साथीले रानुबाट टाढै बस्न आफूलाई धम्क्याएको आरोप पनि लगाएकी छन्।
रानुले भने आफ्नी छोरीको भनाइ खण्डन गर्दै अतिन्द्रले आफ्नो राम्रो हेरविचार गरेको बताएकी हिन्दुस्तान टाइम्सले लेखेको छ।
‘मलाई लाग्छ एलिजावेदलाई भ्रम भयो होला, वा असमझदारी भयो। अतिन्द्र र उनका साथीले मेरो राम्रो ख्याल राखेका छन्। र, उनीहरूले एलिजावेदलाई धम्क्याएको मलाई थाहा छैन,’ रानुले भनेकी छन्।
आमाछोरीका कुराले होस् वा हिमेश रेशमियादेखि लता मंगेशकरका कुरासम्मले, रानु मोन्डल सञ्चारमाध्यममा छाइरहेकी छन्। उनको यो चर्चा अहिल्यै सेलाउने छाँट पनि देखिँदैन।