अभिनेता धर्मेन्द्र बलिउडका आफ्ना समयका चर्चित स्टार हुन्। उनका छोरा सन्नी देवल र बबी देवलले पनि बलिउडमा आफ्नो पहिचान बनाए।
उनकी छोरी इशा देवलको करियर भने बिर्सनलायक नै रह्यो। उनीकी पत्नी हेमा मालिनी पनि आफ्नी समयकी चर्चित स्टार हिरोइन् हुन्।
धर्मेन्द्रको यो पारिवारिक विरासत अब नाति पुस्तामा आइसकेको छ।
धर्मेन्द्रका नाती करण देवल 'पल पल दिल के पास'बाट बलिउडमा डेब्यू गर्दैछन्। उनी सन्नी देवलका छोरा हुन्। सन्नीले आफ्नै निर्देशनमा छोरालाई डेब्यू गराउँदैछन्।
नातीको डेब्यू सिनेमा भएकाले प्रचारको चटारो धर्मेन्द्रलाई पनि छ। यसमा उनी खुबै लागिपरेका छन्। सिनेमाकै प्रचारमा रहेका धर्मेन्द्र एक टिभी कार्यक्रममा एउटा किस्साको खुलासा गरे।
सो टिभी कार्यक्रममा उनले आफ्नो जमानाको सुपरहिट सिनेमा 'आनन्द'मा रोल नपाएपछि सिनेमाका निर्देशक ऋषिकेश मुखर्जीलाई रातभरी रक्सी पिएर फोन गरेर सुत्न नदिएर सताएको खुलासा गरेका छन्।
'ऋषि दाइले मलाई प्लेनमा 'आनन्द'को कथा सुनाउनुभएको थियो। बेङ्लोर आउँदासम्म उहाँले हामी यसो गर्दै छौं, हामी त्यसो गर्दै छौं भन्नुभयो। पछि थाहा पाएँ, राजेश खन्नासँग सिनेमाको काम सुरू भइसकेछ', धर्मेन्द्रले भने, 'म थोरै पिउने गर्छु नै। अनि सारा रात मैले ऋषि दाइलाई फोन गरेर सुत्न दिइन। मैले उहाँलाई मलाई रोल दिदैं हुनुहुन्थ्यो, कथा पनि सुनाउनु भयो तर सिनेमा उसलाई किन दिएको? उहाँले पटकपटक मलाई धरम अहिले सुत भोलि कुरा गरौंला भनिरहनुभयो। उहाँले फोन काट्नुभयो, तर मैले फेरि गरें र किन उसलाई रोल दिएको भनेर सोधेको सोध्यैं गरें।'
उनको यो कथा सुनेपछि कार्यक्रममा उपस्थित सबै हाँसेका थिए।
धर्मेन्द्रले गर्न नपाएको सो 'आनन्द' सिनेमा १९७१ मा रिलिज भएको थियो। सिनेमामा राजेश खन्ना र अमिताभ बच्चन प्रमुख भूमिकामा थिए। यो सिनेमा सो समयमा सुपरहिट बनेको थियो।