पछिल्लो समय लगातार कुनै स्टारको सिनेमाले वक्सअफिसमा पैसा छापिरहेको छ भने ती स्टार निःसन्देह अक्षय कुमार हुन्।
सन् २०१९ मा उनी अभिनित 'मिशन मंगल' तथा 'केशरी'ले गतिलैगरी पैसा कमाए। पछिल्ला केहि वर्षदेखिको उनको सफलताको सिलसिला रोकिएको छैन, लगातार उनका सिनेमा वक्सअफिसमा हिट छन्।
उनी अभिनित 'हाउसफुल ४', तथा 'गुड न्यूज' यसै वर्ष रिलिज हुने तयारीमा रहेका छन्।
त्यस्तै सन् २०२१ सम्म उनी अभिनित १४ सिनेमा रिलिज हुँदैछन्। यस हिसाबले वर्षमा कम्तीमा पनि अक्षय अभिनित ४ सिनेमा रिलिज हुनेछन्। यी मध्ये केहि सिनेमाको रिलिज मितिसमेत तय भइसकेका छ।
आगामी वर्ष अक्षयका ३ ठूला सिनेमा रिलिज हुँदैछन्। ती तीनै सिनेमा ईद, तिहार तथा क्रिसमस जस्ता चाडमा रिलिज हुँदैछन्। यसरी रिलिज हुने सूचिमा 'लक्ष्मी बम', 'बच्चन पाण्डे' तथा 'पृथ्वीराज' रहेका छन्।
जसमध्ये 'लक्ष्मी बम' आगामी ईदमा अर्थात मे २२ मा रिलिज हुनेछ। यस्तै 'बच्चन पाण्डे'को फस्ट लुक सार्वजनिक गर्दै अक्षयले सिनेमा क्रिसमसमा रिलिज हुने घोषणा गरिसकेका छन्। हिजो सोमबार आफ्नो ५२ औं जन्मदिनमा मनाएका अक्षयको यसराज फिल्समको ब्यानरमा निर्माण हुने 'पृथ्वीराज चौहान' सन् २०२० को तिहारमा रिलिज हुने घोषणा गरिसकेको छ।
अक्षयका यी तीन सिनेमा विषयवस्तुका हिसाबले भिन्नभिन्न छन्। अक्षयले घोषणा गरेका यी बिदाको मितिमा वक्सअफिसमा उनी एक्ला भने हुनेछैनन्। बलिउडका ठूला स्टारहरूको सिनेमा यहि मितिमा रिलिज हुँदैछ।
क्रिसमसमा आमिर खान अभिनित 'लाल सिंह चड्ढा' रिलिज हुनेछ भने ईदमा सलमानले 'किक ३' रिलिज गर्ने बताइसकेका छन्। तिहारको मितिमा भने उनी एक्ले हुन्छन् या हुँदैनन् अहिले पक्का भइसकेको छैन।
यस्तोमा अक्षय, सलमान र आमिरको भिडन्त हेर्नलायक हुनेछ।