'म दर्शकलाई खुसी बनाउन हैन, बरु असहज बनाउन र सोच्न बाध्य बनाउन फिल्म बनाउँछु।'
थ्यागराज स्टेडियममा अनुराग कश्यपले कुनै बेला आफूले फिल्म बनाउनुकाे उद्देश्यबारे बाेलेका थिए।
आज उनी यही साेच र भिन्न फिल्म शैलीका कारण बलिउडमा परिचित छन्।
निम्नमध्यम वर्गका कथा, ध्वनि र संगीतमा नौलो प्रयोग, अपरम्परागत कथ्य शैली, बोल्ड क्यारेक्टर, अपाच्य लाग्ने संवाद उनका फिल्मका विशेषता हुन्। न्यून लगानीमै उत्कृष्ट फिल्म बनाउने कश्यपको फिल्मी धारलाई आज बलिउडको मूल धारले समेत मन पराएको छ।
अनुराग कश्यपको जन्म सन् १९७२ मा आजकै दिन अर्थात सेप्टेम्बर १० मा भारतको गोरखपुरमा भएको थियो। बुवा प्रकाश सिंहको जागिर थर्मल पावर स्टेसनमा थियो। जसका कारण बाल्यकाल विभिन्न सहरमा बित्यो।
अन्तर्मुखी स्वभावका कारण यिनको सङ्गत बालबालिकासँग भन्दा पनि किताबसँग भयो। स्कुलपछि वैज्ञानिक बन्ने सपना देखेर दिल्लीको हम्सराज कलेज पुगे र जुलोजीमा ग्राजुएट गरे।
कश्यपले कलेजपछिको एक वर्ष आफू र आफ्नो लक्ष्यबारे स्पष्ट हुन खर्चिए। यही समयमा जननाट्य मन्चसँग नजिकिए उनी। साथीकाे सुझावमा लगातार दश दिनमा पचपन्न वटा विभिन्न फिल्म हेरेपछि उनलाई आफू पुग्नुपर्ने गन्तव्य बाेध भयाे।
करिब ५ हजार रुपैयाँ बोकेर सन् १९९३ जुन ३ मा निर्देशक बन्ने सपना बाेकेर मुम्बई पुगे। खल्तीकाे पैसा रित्तिएपछि फुटपाथकाे बास पनि भाेगे।
मुम्बईमा उनले जानेको एक मात्रै ठाउँ पृथ्वी थिएटर थियाे, जहाँ त्यहीँका कर्मचारी र कलाकारबाहेक अरुलाई प्रवेश अनुमति थिएन। उनी त्यहाँ स्वयंसेवक वेटरका रूपमा काम गर्न थाले। यसबाट उनको खाने बस्ने व्यवस्था भयो।
काम गर्न थालेको केही समयमा नै उनी नाटकको लागि स्क्रिप्ट लेख्न थाले। उनले लेखेको नाटक अन्तिम समयमा आएर निर्देशकको मृत्युको कारण प्रदर्शन हुन पाएन। लेखनमा अत्याधिक रूचि भएकै कारण सुरुकाे चरणमा उनले बिना नाम र बिना क्रेडिट थुप्रै टिभी सिरियल लेखे।
त्यसबखत स्याटेलाइट टिभी र 'डेली सोप' भर्खरै सुरु भएको थियो। उनी दैनिक सय पेजसम्म लेख्न सक्थे।
उनी सामु दुइटा अफर आयो। मासिक अढाइ लाख लिएर महेश भट्टका लागि 'डेली सोप' लेख्ने या मासिक दश हजार लिएर राम गोपाल वर्माको फिल्म 'सत्या' लेख्ने। उनले दोस्रो रोजे। कारण, रामगोपाल वर्मा परम्परागतभन्दा भिन्न फिल्म बनाउन चाहन्थे। सत्या(१९९८) त्यस समय निक्कै सफल भयो। यो नै लेखकको रुपमा उनको पहिलो फिल्म थियो।
आफ्ना फिल्महरुमा अझै वर्माकै स्कुलिङको प्रभाव रहेको उनी स्वयं स्विकार्छन्। यसबाहेक' कौन(१९९९) र शुल(१९९९)' फिल्ममा समेत उनले लेखकको रुपमा देखिए। त्यसपछि उनले 'लास्ट ट्रेन टु महाकाली (१९९९)'नामक सर्ट फिल्म बनाए।
कश्यपको पहिलो निर्देशन रहेको फिल्म 'पाँच' जसलाई यौन, ड्रग्स र हिंसाका दृश्यका कारण सेन्सर बोर्डले प्रदर्शन रोकिदियो। सन् २००१ मा सेन्सर हटे पनि फिल्म भारतमा प्रदर्शन भएन। बरु यसले फिल्म फेस्टिभलमा राम्रो प्रतिक्रिया पायो। यसको सम्पादक थिइन्, आरती बजाज जो पछि गएर कश्यपको श्रीमती भइन्। करिब १२ वर्षपछि यी दुई बीचको औपचारिक सम्बन्ध सकियो।
यसैबीच यिनले 'पैसा', 'असुल', 'युवा', 'वाटर' जस्ता फिल्मका लागि संवाद लेखे। दोस्रो फिल्म 'ब्ल्याक फ्राइडे(२००७)'ले समेत ३ वर्ष सेन्सरको झमेला बेहोर्यो। तथापि यसले मध्यम व्यापार गर्यो। 'नो स्मोकिङ(२००७)' अत्यधिक सस्पेन्स, नन लिनियर स्टोरी लाइनका कारण नराम्रोसँग फ्लप भयो।
'देवदास'काे रिमेक 'देव डी(२००९)'ले भने राम्रो व्यापार गर्यो।
त्यस प्रश्चात १३ दिन सुट गरिएको 'द गर्ल इन एल्लो बुट्स(२०११)'ले समेत राम्रो प्रतिक्रिया पायो। जुन आजसम्म टेलिभिजनमा धेरै हेरिएको फिल्ममध्ये एक हो। 'गुलाल(२००९)'मा सेट र प्रकाशको लागत घटाउन हरेक वर्ष दिवालीमा गएर सुट गरिएको थियो। करिब ८ वर्ष लगाएर तयार गरेको फिल्मले दर्शक र बक्स अफिसको राम्रो साथ पायो। कश्यप र अरु दश जना निर्देशकको सहकार्यमा बनेको फिल्म 'मुम्बई कटिङ(२०१०)'मा एघार जना निर्देशकको मुम्बईलाइ हेर्ने आ-आफ्नो दृष्टिकोण छ।
कश्यप रङ समायोजनलाई न्यारेसनको महत्त्वपूर्ण औजारका रुपमा प्रयाेग गर्छन्। रातो रङ, उत्तेजना, शक्ति, क्षमताको प्रतीक मानिन्छ जसलाई उनले 'गुलाल(२००९)'मा क्रान्तिका दृश्यहरुमा अर्थपूर्ण प्रयोग गरेका छन्।
एउटा दृश्यमा क्रान्तिको नेतृत्व गर्ने व्यक्ति रातो रङमा र समर्थन गर्ने जनता वास्तविक रङमा देखिनुले नेतृत्व र समर्थकबीचको क्रान्तिलाई हेर्ने दृष्टिकोण फरक रहेको देखाउँछ। अर्को एउटा पात्रलाई आधा रातो र आधा निलो देखाइन्छ, जसबाट उसमा भएको दोहोरो चरित्र देखिन्छ।
'द गर्ल इन एल्लो बुट्स(२०११)' मा एक किशोरी आफू सानै छँदा हराएको बाबूलाई खोज्न भारत आउँछिन्। पहेँलो रङ मार्फत् उनको बाबु भेटिने आश देखाइएको छ भने भारत छँदा उनले गर्ने देहव्यापारलाई रातो रङबाट देखाइएको छ। अन्तिम दृश्यमा उनलाई निलो रङमा र बाहिरी दुनियाँलाई उज्यालो देखाउँदै गर्दा उनी आँखा चिम्लिन्छिन्। उनको दृश्य कालो हुन्छ, जसले बाँकी रहेको आशा सबै सकिएको देखाउँछ।
'देव डी(२००९)'मा देवको एक्लोपनालाई निलो र ड्रग्सको काल्पनिक संसारलाई देखाइएको छ भने चन्दालाई पिङ्क र उनले गर्ने देहव्यापारलाई रातो रङ्गबाट देखाइएको छ।
कश्यपलाई 'ग्याङ्स अफ वासेपुर(२०१२)'ले धेरै दर्शक माझ चिनायो। दुई भागमा बनाइएको फिल्मले धनवाद क्षेत्रमा हुने कोइला तस्करी र माफिया पारिवार बिचको टक्करलाई मुख्य विषयवस्तु बनाएको छ। हरेक पात्रलाई उत्तिकै न्याय गरिएको यस फिल्मको सबैभन्दा सशक्त पक्ष भनेको उक्त समयको वास्तविक प्रस्तुतिकरण नै हो। वास्तविक लोकेसनमा सुट गर्नु, लङ लेन्स प्रयोग गर्नु उनको अर्को विशेषता हो। सडककाे बीचमा नै सुटिङ गरिएका यिनका थुप्रै फिल्म छन् जसमध्ये 'ग्याङ्स अफ वासेपुर' र 'अग्ली'लाई उत्कृष्ट नमूनाका रुपमा लिन सकिन्छ।
संगीतलाई न्यारेसनकै रुपमा लिने कश्यपले धेरै संगीत स्टुडियो बाहिर र त्यहाँको लोकभाका टिपेर गरेका छन्। 'ओ वुमनिया', 'तार बिजली पतले हमारे पिया' यसैगरी तयार गरिएका हुन्। यसबाहेक उनले अग्लि(२०१४) र रमन राघव(२०१६)फिल्म बनाए। पहिलोले मानिस आफ्नो काममा जतिसुकै अब्बल भए पनि अहमले भरियो भने कसरी आफू र अरुलाईसमेत दुर्घटनामा पार्न सक्छ भन्ने देखाएको छ। रमन राघवले १९६० ताका मुम्बईको कुख्यात हत्यारा रमन राघवको हत्या शृङ्खलालाई आधार बनाएको छ। कास्टिङमा पात्रको जस्तै जीवन अनुभव भएको व्यक्तिलाई उनी पहिलो प्राथमिकता दिन्छन्।
अग्लीमा उनलाई एक जना स्ट्र्गलिङ एक्टरको आवश्यक पर्यो। जसका लागि उस्तै संघर्ष गरेका राहुल भाटलाई रोजेँ। उनी भन्छन्, 'तपाईं युवालाई वृद्धको अभिनय गराउन त सक्नुहुन्छ, वास्तविक देखाउन सक्नुहुन्न।' उनी एक्टर माथि विभिन्न किसिमले प्रयोग गर्न रुचाउँछन्। लोकेसनमा मात्रै स्क्रिप्ट पढ्न दिएर बनाइएको 'अग्ली' यसको उदाहरण हो।
'म नास्तिक हुँ, मेराे लागि फिल्म एक मात्र धर्म हो' भन्ने कश्यप फिल्मप्रति बेग्लै निष्ठा देखाउँछ्न्। व्यक्तिगत सम्बन्धमा निक्कै आरोहअवरोह भोगेका कश्यपको कल्कीसँगको विवाह पनि चार वर्षभन्दा बढी टिक्न सकेन।
व्यवसायिक सम्बन्धमा भने कश्यप निक्कै सरल र उदार लाग्छन्। आरती बजाज हालसम्म पनि उनका फिल्ममा सम्पादन गर्छिन् भने कल्की कलाकारको रुपमा यिनको फिल्ममा अझैसम्म देखिन्छिन्।
सहकार्यको क्रममा क्रेडिटमा समस्या आए उनी आफ्नो नाम अन्त्यमा लेख्न लगाउँछ्न् ताकि यसले अवरोध नल्याओस्।
'बम्बई टाकिज(२०१५)' चार जना निर्देशकहरूको सर्ट मुभीको संग्रह हो। जसमा करण जोहरको 'अजिव दासता है ये', दिवाकर बेनर्जीको 'स्टार', जोया अख्तरको 'शिला कि जवानी' र कश्यप स्वयंको 'मुरब्बा' देख्न सकिन्छ। 'लस्ट स्टोरिज(२०१८)' यिनै निर्देशकहरूको सहकार्यको निरन्तरता हो।
लगानीकै कारण फिल्म निर्माण नरोकियोस् भन्ने चाहना अनुरुप कश्यप र अरु तीन फिल्म मेकर मिलेर 'फ्यान्टम' फिल्म निर्माण कम्पनी बनाउँछ्न्। 'ग्याङ्स अफ वासेपुर' सुटिङ जाने केही दिनअघि मात्रै निर्माताका कारण फिल्म रोकिने सम्भावना बढ्छ। भविष्यमा फेरि यस्तो अवस्था हुन सक्ने सम्भावनालाई औल्याउँदै कम्पनी निर्माण हुन्छ।
करीब आठ वर्षमा सफल असफल दुवै गरी ११ फिल्म निर्माण गरेको कम्पनी बन्द हुन्छ। बन्दको जानकारी दिँदै कश्यप ट्विटरमा लेख्छन्- 'फ्यान्टम' एक सपना थियो र हरेक सपनाको अवधि हुन्छ। यसको यात्रा यही टुङ्ग्याउँदै हामी एक अर्कोलाई सुखद भविष्यको लागि शुभकामना व्यक्त गर्दछौं।'
विभिन्न समयमा उनी विवादमा समेत मुछिएका छन्। करण जोहर र अमिताभ बच्चनसँग खटपट अहिले आएर शान्त भइसकेको छ। जसकारण कश्यपले दुवैसँग कामसमेत गरिसकेका छन्। चुनावताक प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चलाएको अभियान र पछिल्लो समय भारतमा चलिरहेको धार्मिक अतिवादविरुद्ध प्रधानमन्त्रीलाई लेखेको चिठ्ठीले यिनलाई थप विवादमा ल्याएको थियो।
प्रायः वास्तविक धरातलसँग निकै नजिक रहेर फिल्म बनाउने कश्यपको सिनेमामा पाइने फिल्मी तत्व भनेका डार्क प्रेजेन्टेसन, बोल्ड क्यारेक्टर, ब्ल्याक कमेडी, सेल्फ ड्रिस्ट्र्कटिभ प्रोटागोनिस्ट, अपाच्य खालका संवाद, अपारम्पारिक कथा नै हुन्।
महेश भट्टको लाभदायक अफर छाडेर राम गोपाल वर्माको सत्या फिल्म रोज्नुले नै उनलाई पारम्परिक फिल्म निर्माणभन्दा फरक रूचि देखाउँछ। सूत्र संरचनाका फिल्म निर्माण भैरहेको समयमा यिनी आफ्नै कथ्य शैली लिएर आए। आज बलिउडमा आर्ट फिल्म स्थापित हुनुमा केही भूमिका कश्यपको पनि छ।
आज यिनलाई एउटा त्यस्तो 'आउटसाइडर'का रुपमा हेरिन्छ जसले बलिउडलाई भिन्न किसिमले विश्व बजारमा पुर्याउन सफल भयो। कश्यप आज पनि स्वतन्त्र फिल्म मेकरलाई प्रोत्साहन गर्छन्। कम लगानीमा फिल्म निर्माण गरेको अनुभव सुनाउँदै गर्दा कश्यप भन्छन्, 'मसँग ठूलो सेट बनाउने बजेट थिएन। मेरा लागि पूरा मुम्बई नै एक सेट थियो।'
कश्यपले पछिल्ला अन्तर्वाताहरूमा आफ्नो फिल्मसबन्धी धारणा पहिलेजस्तो नरहेको बताउन थालेका छन्। यसबाट उनको आउने फिल्मी बाटो केही भिन्न र राेचक हुन सक्ने कुरा सहजै अनुमान गर्न सकिन्छ।