नामूद शायर तथा गीतकार साहिर लुधियानवीका बहुमूल्य हस्तलिखित पत्र, डायरी, नज्म र उनका श्यामश्वेत तस्बिरहरु मुम्बईको एउटा कबाड पसलमा फेला पर्यो। एउटा गैरनाफामुखी संगठनले यी सबै सामग्री संरक्षण गर्नका लागि भनेर किनेको छ, जसको मोल केवल तीन हजार रुपियाँ थियो।
मुम्बईको गैरनाफमुखी संगठन फिल्म हेरिटेज फाउन्डेसनले हालै जुहू कबाडको एउटा पसलमा पत्रपत्रिकाको ढिस्कोमा यी चिज फेला परेको हो। संगठनले यी सामग्री संरक्षण गरी अभिलेखका रुपमा प्रदर्शन गर्ने योजना बनाएको छ।
संस्थाका संस्थापक निर्देशक शिवेन्द्र सिंह डुंगरपुरले भने, 'यी डायरीहरुमा उनको दैनिक कार्यक्रम, जस्तै गीत रेकर्डिङका लागि उनी कहाँ जान्छन् लगायत अन्य निजी कुरा आदि छन्। केही नज्म र टिपोट पनि छन्। यी टिपोट उनको प्रकाशन संगठन पार्चियाँसँग छ।'
उनले भने, 'यी सामग्रीमा त्यो समयका संगीतकार रवि, उसका साथी र कवि हरवंशद्वारा उनलाई लेखिएका चिठी पनि छन्। केही पत्र अंग्रेजी र केही उर्दूमा छन्। बाँकी कृतिहरु उर्दूमा छन्।'
साहिरका केही निजी तस्बिर, केही तस्बिर उनको बहिनी, साथी र केही उनको घर पन्जाबको भएको उनले बताए। फाउन्डेसनका विशेषज्ञ ती नज्महरु अध्ययन गरिरहेका छन् र तिनमा कुन सामग्री अप्रकाशित छन् भनेर पत्ता लगाइरहेछन्।
डुंगरपुरले भने, 'यो घटनाले गुरुदत्तको फिल्म प्यासाको दृश्यको याद दिलाउँछ, जसमा उनका नज्म र कृति कबाडको पसलमा भेटिन्छ।'
गीतकार साहिर लुधियानवी(१९२१-१९८०)लाई उनका सदाबहार गीतहरुका लागि चिनिन्थ्यो, जसलाई आज पनि भुलाउन सकिन्नँ। उनी हिन्दू र उर्दूमा लेख्ने गर्थे। सन् १९२१ मा उनको जन्म पन्जाबको लुधियाना सहरमा भएको थियो।
साहिरले गुरुदत्तको 'प्यासा (१९५७)' राजकपुरको फिल्म 'फिर सुबह होगी(१९५८)' अशोक कुमारको फिल्म 'गुमराह(१९६३)' र अमिताभ बच्चनको फिल्म 'कभी कभी(१९७६)'का लागि गीत लेखेका थिए।