बलिउड अभिनेता आयुष्मान खुरानाको नयाँ फिल्म 'ड्रिम गर्ल' आउँदैछ। आयुष्मानसँगै फिल्ममा अभिनेत्री नुसरत भरूचा र अन्नु कपुरको पनि मुख्य भूमिका छ। सेप्टेम्बर १३ मा रिलिज हुने भए पनि यो फिल्मले अहिलेदेखि नै निकै चर्चा कमाइरहेको छ।
भारतीय सञ्चारमाध्यम एनडिटिभीले त 'ड्रिम गर्ल'ले 'धमाल' नै मच्चाएको लेखेको छ। रिलिज नहुँदै फिल्म समीक्षक तरन आदर्शले 'ड्रिम गर्ल'लाई चार तारा दिएर 'रेटिङ' गरेका छन्। साथै उनले 'फिल्मलाई एक शब्दमा समीक्षा गर्दा यो विजेता हो' भन्दै दर्शकको मन जित्न काफी रहेको बताएका छन्।
राज शान्डिल्यको निर्देशनमा बनेको फिल्ममा टिप्पणी गर्दै तरनले भनेका छन्- आयुष्मान खुरानाले आफ्नो सपना जारी राखेका छन्। भरपुर मनोरञ्जनका साथ फिल्म दर्शकहरूलाई हसाउन काफी छ। फिल्मका संवादहरूमा रमाइला लाइनहरू जोडेर झनै रमाइलो बनाइएको छ। आयुष्मान खुरानाका साथमा अन्नु कपुरले पनि आफ्नो भूमिका एकदमै राम्ररी निर्वाह गरेकी छन्। राज शान्डिल्यको निर्देशन एकदमै हिट छ।
'ड्रिम गर्ल'मा मन्जोत सिंह र विजय राजको पनि मुख्य भूमिका छ। फिल्म रोमान्टिक कमेडी विधाको हो जसको निर्माता एकता कपुर हुन्। अलग अलग भूमिका निर्वाह गरेर चर्चामा आइरहेका आयुष्मानले यो फिल्ममा पनि नयाँ आवरण र पात्रमा देखिएका छन्।
हालसालै रिलिज भएको उनको फिल्म 'आर्टिकल १५' हिट भएको छ। फिल्ममा उनी प्रहरीको भूमिकामा छन्। गत वर्ष पनि आयुष्मानका फिल्म 'बधाइ हो' र 'अन्धाधुन' खुबै हिट भए। 'अन्धाधुन'ले त राष्ट्रिय फिल्म पुरस्कार नै पायो।
पछिल्लो समय बलिउडमा धेरै बजेटका र ठूला स्टार भएका कलाकारको फिल्महरू फ्ल्प भइरहेका छन्। कम बजेटमा बनेका फिल्मले भने दुई करोड हाराहारी कमाइ सहजै गरेका छन्। आयुष्मानका फिल्म यसैका उदाहरण हुन्।