बलिउड संगीतकार हिमेश रेशमियाले रानू मंडलको स्वर लता मंगेशकरको हुबहु नक्कल नभएको बताएका छन्।
उनले रानू स्वर नक्कल नभई लताको स्वरबाट प्रभावित मात्र रहेको बताए।
रानू र उनको स्वरमा रहेको 'तेरी मेरी कहानी' गीतको रिलिज कार्यक्रममा हिमेशले यस्तो बताएका हुन्।
रेल स्टेशनमा लता मंगेशकरको स्वरमा रहेको 'एक प्यारका नगमा हे' गीत गाइरहेको भिडियो सामाजिक संजालमा आएपछि रानू रातारात भाइरल भएकी थिइन्।
हालै एक बयानमा लताले चर्चित स्वरको नक्कलबाट छोटो समयको लागि मात्र प्रसिद्धि हासिल हुने र सफलता आफ्नो स्वरले मात्र दिलाउने बताएकी थिइन्। उनको यस भनाइको सामाजिक संजालमा रानू समर्थकहरूले चर्को आलोचना गरेका थिए।
भाइरल भएकी रानूलाई संगीतकार रेशमियाले आफ्नो 'ह्यापी हार्डी एण्ड हीर' सिनेमाको गीत गाउन दिएर ब्रेक दिएका थिए।
सोही गीतको सार्वजनिक कार्यक्रममा बोल्दै हिमेशले लताको भनाइलाई सहि परिदृश्यमा बुझ्नुपर्ने धारणा राखेका छन्।
'उहाँ लताजीबाट प्रभावित हुनुहुन्छ। लताजी जस्तो अर्को कोही हुन सक्दैन। उहाँ सर्वोत्कृष्ट हुनुहुन्छ। लताजीको भनाइको आशय तपाईं प्रभावित हुनसक्नुहुन्छ तर हुबहु नक्कल गर्न हुँदैन भन्ने हो। र त्यो रानूजीले गर्नु भएको पनि छैन', हिमेशले भने।
उनले हुबहु नक्कल गर्नु र प्रभावित हुनुमा फरक रहेको पनि स्पष्ट पारे।
'आज अर्जित सिंह ठूला गायक हुन् र यदि कोहीले उनको जस्तै गाउने नक्कल गरे भने त्यसले काम गर्दैन। र प्रेरणा लिनुचाँहि महत्वपूर्ण हो', हिमेशको भनाइ थियो।
हिमेश सबैजना कहिकतै कोही न कोहीसँग प्रभावित हुने बताए।
'जब मैले हाई पिचमा गाउन थालें तब मानिसहरू मलाई नाकबाट गाउँछ भन्थे तर अन्तराष्ट्रिय गायनमा यसैगरी गाइन्छ, जुन आजकल आम भएको छ। प्रेरणा लिनु एकदमै महत्वपूर्ण हो। रेनु जन्मजात प्रतिभावान हुन्', हिमेशले रानूको बचाउ गर्दै भने।