बलिउड अभिनेता आयुष्मान खुराना यति बेला निकै चर्चामा छन्। उनको नयाँ फिल्म 'ड्रिम गर्ल' ले कमाइको राम्रो सुरूआत गरेको छ भने प्रतिक्रिया पनि राम्रो पाएको छ। यसअघि उनको फिल्म 'आर्टिकल १५' ले पनि कमाइसँगै तारिफ बटुल्न सफल भयो।
अझ अघिको फिल्म 'अन्धाधुन'ले त कमाइसँगै राष्ट्रिय अवार्ड नै पायो। आयुष्मान खुराना सफलताको भर्याङमा लगातार माथि उक्लिँदै छन्।
उनी अब नयाँ फिल्म 'बाला' को तयारीमा छन्। यसले बक्सअफिसमा कस्तो प्रदर्शन गर्छ, यो धेरै परको कुरा भयो। तर फिल्मले अहिले नै झमेला भने खेप्न थालिसकेको छ।
हिन्दुस्तान टाइम्सका अनुसार फिल्म निर्देशक प्रविण मोर्चालेले 'बाला' का लेखक निरन भट्ट र निर्माता म्याडक फिल्मस् विरूद्ध बम्बई उच्च अदालतमा मुद्दा हालेका छन्। आफ्नो 'स्क्रिनप्ले' बाट 'बाला'को कथा प्रभावित भएको भन्दै उनले मुद्दा हालेका हुन्।
यसअघि पनि यो फिल्ममा मुद्दा परिसकेको छ।
बालाको कथा आफूले धेरै पटक बलिउडका कलाकारलाई सुनाएको आफ्नो कथासँग मिल्दो भएको आरोप प्रविणले लगाएका छन्। यो फिल्म तालु खुइलिँदै गएको एक मान्छेका बारेमा छ।
'मैले समाचारबाट थाहा पाएँ कि बाला चाँडै तालु खुइलिन थालेको मान्छेको कमेडी कथा हो,' प्रविणले भनेका छन्, 'यो आइडिया मैले सन् २००५ देखि नै भन्दै आएको हो। मैले दुई वर्ष यसमा काम गरेर यसको कथा सन् २००७ मा फिल्म राइटर्स एसोसिएसनमा दर्ता पनि गरिसकेको छु। अहिले धेरै स्रोतहरूबाट केलाउँदा बालाको कथा मेरो कथासँग मिल्दो भएको पाएको छु।'
फिल्म बालासँग सम्बन्धित कोही व्यक्ति आफूले नभेटेको पनि उनले बताएका छन्।
'यसको मतलब मैले फिल्मकै कसैलाई कथा सुनाएको भनेको होइन। मैले सयौं मान्छेलाई यो कथा सुनाएको छु। जसको पनि दिमागमा यो रहेको हुन सक्छ। फेरि मैले दर्तै गरिसकेपछि मैले ढुक्क भएर सुनाउँछु नि र कसैले चोर्न सक्दैन,' उनले भनेका छन्।
बाला निर्माता म्याडक फिल्मस्ले भने आफूहरूलाई मुद्दाका बारेमा कुनै जानकारी नभएको बताएको छ।
कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ- प्रविण मोर्चालेले मुद्दा हालेका बारेमा हामी जानकार छैनौं। साथै फिल्म बालाका बारेमा उनले लगाएका आरोप सबै झुटा हुन्। म्याडकका कोही मान्छेसँग पनि मोर्चालेको भेट भएको छैन। न त तालु खुइलेको मान्छेको कथासँग उनको केही सम्बन्ध छ भन्नेबारे हामीलाई थाहा छ।'
गत मार्चमा पनि 'शादी मे जरूर आना' का सहायक निर्देशक कमलकान्त चन्द्रले बम्बई उच्च अदालतमा आयुष्मान, निर्देशक अमर र निर्माता दिनेश विजनविरूद्ध फिल्मको आइडिया चोरेको भन्दै मुद्दा हालेका थिए।