मिस वर्ल्ड हुँदै सफल बलिउड अभिनेत्री बनेर हलिउडमा समेत सफलताको झण्डा लहराएकी प्रियंका चोपडा करिब ३ वर्षपछि 'द स्काई इज पिंक' नामक सिनेमाबाट पुनः बलिउडमा फर्किदैछिन्।
अक्टुबर ११ मा सिनेमा रिलिज हुँदैछ।
प्रियंका अभिनित यस सिनेमाले रिलिज अगावैबाट गतिलो चर्चा बटुल्न थालेको छ। टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिवलमा प्रिमियर भएको सिनेमाले प्रिमियर पश्चात प्रशंसा बटुलेको छ।
सोनाली बोस निर्देशित सिनेमाको प्रिमियर सकिएलगत्तै सिनेमा हेर्नेहरूले करिब चार मिनेटसम्म ताली पिटेर प्रियंकाको सिनेमालाई सम्मान प्रकट गरेका थिए।
यसै कार्यक्रममा प्रियंका भावुक समेत भइन्। सिनेमा सकिए लगत्तै उनका आँखा आँसुले भरिएका थिए। सिनेमाकी निर्देशकलाई अंगालो हाल्दै गर्दा उनका आँखा रसाएका थिए।
प्रियंकाको यस सिनेमाले पुल्मोनेरी फाइब्रेसिस नाम रोगबाट जीवन गुमाउने अवस्थामा पुगेकी एक छोरीको बाबुआमाको कथा पेस गर्छ।
सिनेमामा प्रियंका र फरहान अख्तर पतिपत्नी बनेका छन् भने हालै इस्लामले इजाजत नदिने भन्दै बलिउड सिनेमाबाट संन्यासको घोषणा गरेकी जायरा वसीम उनीहरूको छोरीको भूमिकामा छिन्।
सिनेमाको प्रिमियरमा प्रियंका आफ्ना पति निक जोनाससँग उपस्थित थिइन्। निकले पनि सिनेमाको क्लाइमेक्स हेरेर आफू रोएको प्रतिक्रिया दिएका थिए।
'द स्काई इज पिंक' सिनेमाले आइशा चौधरीको वास्तविक कथा पेस गर्छ। मात्र १३ वर्षको उमेरमा पुल्मोनरी फाइब्रेसिस भएको पत्ता लागेपछि उनी 'मोटिभेसनल स्पीकर' बनेकी थिइन्। सिनेमाको कथा उनकै कोणबाट भनिएको छ।