'बाहुबली' र 'साहो' फिल्मबाट बलिउडमा चर्चा कमाएका दक्षिण भारतीय अभिनेता प्रभासले अब कुन फिल्म खेल्नेछन् भन्ने कौतुहलता सुरू भइसकेको छ।
यही सन्दर्भमा एउटा खबर सार्वजनिक भएको छ। भारतीय सञ्चारमाध्यम 'एनडिटिभी' का अनुसार 'दंगल' र 'छिछोरे' का निर्देशक नितेश तिवारी भारतीय फिल्म उद्योगकै ठूलो फिल्म बनाउने तयारी गर्दैछन्। यो फिल्म 'रामायण' हो।
तिवारीले 'रामायण' लाई तीन भागको फिल्म बनाउने तयारी गरिरहेका बताइएको छ। र, यही फिल्ममा प्रभासको पनि मुख्य भूमिका हुने अनुमान चर्चा चलेको छ। तर सञ्चारमाध्यमहरूका अनुसार प्रभास रामको भूमिकामा भने हुने छैनन्।
रामको भूमिका बलिउडकै अभिनेताले पाएका छन्। खबरअनुसार ऋतिक रोशन 'रामायण'मा राम बन्दैछन् भने दीपिका पादुकोण सीता बन्नेछन्। प्रभास भने रावणको भूमिकामा देखिने चर्चा चलेको छ। तर यसबारे निश्चित भइसकेको छैन।
पिंकभिलाका अनुसार प्रभासको भूमिकाबारे निर्देशक नितेश तिवारीकै नजिकका स्रोतले जानकारी दिएका हुन्। फिल्मको लागत करिब ६ सय करोड भारू हुने पनि पिंकभिलाले लेखेको छ। यो हालसम्मकै महँगो भारतीय फिल्म हुनेछ। हिन्दी, तमिल र तेलुगू भाषामा रिलिज हुने भएकाले फिल्मको टिमले 'बाहुबली' प्रभासलाई नै रावणको भूमिकामा राख्न खोजेका हुन्।
तर यसबारे आधिकारिक घोषणा नभएर छलफल मात्र चलेको पनि सञ्चारमाध्यमहरूले लेखेका छन्।
'रामायण' बनिुसक्न पनि करिब दुई वर्ष लाग्ने अनुमान छ। फिल्मका बारेमा बोल्दै निर्देश नितेश तिवारीले भनेका छन्, 'हामी यसलाई तीन भागमा बनाउनेछौं। किनकि यो धेरै लामो कथा हो। तीनवटै फिल्मलाई एक एक गरेर छोटोछोटो अन्तरालमा रिलिज गरिनेछ।'
'बाहुबली र साहो' मा 'हिरो' बनेका प्रभासले रावणको भूमिका निर्वाह गर्छन्/गर्दैनन्, त्यो हेर्न बाँकी नै छ। तर भारतकै ठूलो प्रोजेक्ट मानिएको फिल्ममा उनी आउँदैनन् भनेर किटान गर्न पनि नसकिने भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।