भन्छन्, असली अभिनेता त्यो हो जसको पहिलो रोजाइ अभिनय हुन्छ। त्यसो त सिनेमा कलासँगै व्यापार पनि हो।
धेरैलाई सजिलै पैसा कमाउने माध्यम सिनेमा हो भन्ने लाग्न सक्छ। तर एउटा कलाको पुजारीले त्यसमा पहिले कला देख्छ अनि पैसा।
आज थुप्रै सिनेमा स्टारको कमाइ सुन्दा जिब्रो टोक्ने खालको छ। हलिउड, बलिउडको के कुरा नेपाली सिनेमा उद्योगमा पनि पारिश्रमिक २०-२५ लाख आम सुनिन थालेको छ, भलै त्यसको आधिकारिक्तामाथि प्रश्नको तरवार झुण्डिरहेकै छ।
नेपाली कलाकार पैसामुखी भए भन्ने आरोप लागि रहँदा बलिउड अभिनेता तथा गयक अन्नु कपुरले इतिहासको एउटा प्रसंगको सम्झना गर्दै भनेको कुराले असली कलाकार कस्तो हुन्छ भन्ने प्रमाण पेस गर्छ।
भारतीय टेलिभिजनमा आउने 'सुपरस्टार सिङ्गर'नाम कार्यक्रममा एक सहभागीले 'तीसरी कसम' सिनेमाको 'सैयाँ खाए पान हमार' गीत गाएपछि उनले सिनेमाका लागि राज कपुरले एक रूपैयाँ मात्र पारिश्रमिक लिएको प्रसंग ताजा गरेका हुन्।
अन्नुले ताजा गरेको प्रसंगले राज कपुर कस्ता कलाकार हुन बयान गर्छ।
हिन्दी सिनेमामा राज कपुर एउटा त्यस्ता नाम हुन जसको चर्चाबिना भारतीय सिनेमा उद्योगको एउटा कालखण्ड रित्तो हुन्छ। उनी बलिउडका शो म्यान थिए। उनले सिनेमाबाट सम्पतिमात्र कमाएनन्, भएको सम्पति सकेका छन्।
सिनेमाप्रति यो स्तरको लगाव थियो उनको।
राज कपुरले 'मेरा नाम जोकर'मा आफ्नो सारा श्रीसम्पती खन्याएका थिए। सिनेमाको रिलिजसम्म उनको राजकमल फिल्म स्टुडियो सहितका सारा सम्पति बन्धकीमा परिसकेको थियो।
तर सिनेमा चलेन। उनले धेरैजसो सम्पति गुमाउनु पर्यो, ऋण तिर्न घर नै बेच्नुपर्यो।
त्यसपछि उनले 'बबी' सिनेमा बनाए। सिनेमा सुपरहिट भयो। सोही सिनेमाले उनको आर्थिक हैसियत फर्कायो।
उनलाई बस सिनेमा राम्रो हुनुपर्छ भन्ने लाग्थ्यो। स्टार नै भएपनि सिनेमाको पारिश्रमिकको सर्तमा मात्र सिनेमा खेल्ने कलाकार उनी थिएनन्।
सन् १९६६ मा रिलिज भएको 'तीसरी कसम' लागि उनले मात्र १ रूपैयाँ भारू पारिश्रमिक लिएका थिए। उनले राम्रो कथाको सिनेमा खेल्न पाएको खुसीमा त्यति पैसा लिएका हुन्।
बासु भट्टाचार्य निर्देशित सिनेमा पूरा हुन कयौं वर्ष लागेको थियो। तर कलाका पुजारी राज कपुरले झिंझो नमानी सिनेमालाई समय दिए र सिनेमा पूरा गरे।
रिलिजपछि सिनेमाले अवार्ड जिते पनि व्यापारिक सफलता भने हासिल गरेन।तर आज यो सिनेमा बलिउडको 'क्लासिक सिनेमा' हो।
राज कपुरको सिनेमाप्रति यस्तो व्यवहारले एउटा असली कलाकार को हो?, कस्तो हुन्छ ? सटिक उदाहरण पेस गर्दछ।