अभिनेता आयुष्मान खुरानाले पछिल्लो समय बलिउडमा निकै प्रशंसा पाइरहेका छन्। उनका फिल्महरूले लगातार राम्रो प्रतिक्रियासँगै पैसा पनि कमाइरहेका छन्।
उनका फिल्म 'बधाइ हो', 'आर्टिकल १५,' देखि हालै रिलिज भएको 'ड्रिम गर्ल' हिट भए। 'अन्धाधून'ले त भारतदेखि चीनसम्म तहल्का मच्चाउनुका साथै राष्ट्रिय फिल्म अवार्ड पनि पायो।
बलिउडका उदाउँदा तारा आयुष्मान अहिले मात्र हिट भएका भने होइनन्। उनको पहिलो फिल्म 'विक्की डोनर' ले पनि बक्स अफिसमा निकै राम्रो प्रदर्शन गरेको थियो। आयुष्मानले यो फिल्ममार्फत् कमेडीका साथै सामाजिक सन्देश पनि दिएका छन्।
सन् २०१२ को फिल्म 'विक्की डोनर' बारे आयुष्मानले हालै एक अन्तर्वार्तामा केही खुलासा गरेका छन्। आयुष्मानका अनुसार उनले फिल्म खेल्नुअघि नै आफ्नो विर्य दान गरेका थिए।
आयुष्मानले मुम्बई मिररसँगको अन्तर्वार्तामा भनेका छन्, 'आठ वर्षपहिले जब हामी 'विक्की डोनर' को सुटिङ गर्दै थियौं, तब शुजित सिरकार (निर्देशक) मलाई देखेर तीन छक पर्नु भएको थियो। मलाई विर्यदानको तरिका लगायत सबै कुरा जानकारी थियो। म कुनै हिसाबले आत्तिएको थिइनँ। आत्तिएको त त्यो बेला थिएँ जब सन् २००४ मा दान गरेको थिएँ।'
आयुष्मानले आफ्नो गुजारा चलाउन भने विर्यदान गरेका होइनन्। उनका अनुसार सन् २००४ मा उनी 'रोडीज' कार्यक्रममा सहभागी थिए। यही क्रममा 'टास्क' का लागि इलाहाबाद बैंकमा आफ्नो विर्यदान गर्नुपर्ने थियो।
'त्यो हाम्रो लागि टास्कको हिस्सा भए पनि सात वर्षपछि जब मैले शुजित दाइसँग विक्की डोनर फिल्म गरेँ, तब उहाँ मलाई सामान्य देखेर हैरान हुनुभएको थियो,' आयुष्मानले भनेका छन्।
फिल्म विक्की डोनरमा आयुष्मानका साथै यामी गौतम पनि मुख्य भूमिकामा थिइन्।