रानु मन्डल अब रेलवे स्टेनशमा गाएर गुजारा चलाउने नभएर बलिउड गायिका भइसकेकी छन्।
गायक तथा संगीतकार हिमेश रेशमियाले केही साताअघि रानु मोन्डलको पहिलो गीत 'तेरी मेरी कहानी' सार्वजनिक गरेसँगै उनका प्रशंसकहरू बढ्दै छन्। गीतमा रानु र हिमेश दुवैको स्वर छ।
हिमेशले रानुलाई आफ्नो नयाँ फिल्म 'ह्याप्पी, हार्डी एन्ड हीर'मा गाउने मौका दिएका हुन्। यही फिल्मको 'आ..आ..आशिकी में तेरी' गीतमा पनि रानुले हिमेशसँग गाएकी छन्।
यो गीत सन् २००६ मा रिलिज भएको '३६ चाइना टाउन' को हो जसमा हिमेशकै स्वर छ। यसको 'रिमेक' का रूपमा 'ह्याप्पी, हार्डी एन्ड हीर' मा यो गीत राखिने बताइएको छ।
रानुको चर्चा कुनै नाम चलेकी सेलेब्रेटीभन्दा कम छैन। नहोस् पनि कसरी, पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा बसेर रानुले 'एक प्यारका नग्मा है' गाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै टिभी र सञ्चारमाध्यममा उनै छाएकी छन्।
हिमेश रेशमियाले रानुलाई आफ्नो फिल्ममा गाउने अवसर दिए। उनले अहिलेसम्म पाँच–छ वटा गीत रेकर्ड गराइसकेको बताएकी छन्। बाटामा मागेर गुजारा गर्दै आएकी रानुको बदलिएको जीवनका लागि धेरैलाई शुभकामना दिएका छन्। उनलाई 'रानाघाटकी लता मंगेशकर' भन्दै प्रशंसकहरूले खुबै सरहाना गरेका छन्।
तर यही विषयमा भारतकी 'लेजेन्ड' गायिका लता मंगेशकरले दिएको प्रतिक्रियामा भने धेरैले असन्तुष्टि जनाएका थिए।
लता मंगेशकरलाई उनकै गीत गाएर चर्चा कमाएकी रानुका बारेमा सोधिएको थियो। उनले अरू कसैका गीत गाएर सम्भावना भएका र नयाँ गायकहरूले आफूतिर ध्यान बटुल्न सक्छन् तर त्यो सफलता लामो समय रहँदैन भन्ने खाले अभिव्यक्ति दिएकी थिइन्। लताले सबैलाई आफ्नो पहिचान खोज्ने सन्देश दिएको भए पनि रानु मोन्डलका प्रशंसकहरूले नराम्रो मान्दै सामाजिक सञ्जालमा असन्तुष्टि देखाएका थिए।
रानुले पनि एक अन्तर्वार्तामा लता मंगेशकरका भनाइमाथि टिप्पणी गरेकी थिइन्।
'लताजी भन्दा उमेरमा म धेरै सानी छु,' ६० वर्षीया रानुले भनेकी छन्, 'र, सधैं उहाँभन्दा सानी (जुनियर) नै हुनेछु। केटाकेटी बेलादेखि नै उहाँको स्वर मनपर्छ। त्यही सुन्दै हुर्केकी हुँ।'
सामाजिक सञ्जालमा रानुले स्टेशनमा गाइरहेको भिडिओ भाइरल भए पछि उनी चर्चामा आएकी हुन्। रानु र हिमेश रेशमियाको भेट सोनी टिभीको कार्यक्रम 'सुपरस्टार सिंगर' मा भएको थियो। त्यही मञ्चमा रानुको स्वर सुनेर कायल भएका हिमेशले आफ्नो फिल्ममा गाउन उनलाई अनुरोध गरेका थिए।