बलिउड गायक हिमेश रेशमियासँगको सहकार्यपछि रानु मन्डलले अर्का चर्चित गायकसँग स्वर मिलाकी छन्। हालै रानुले गायक उदित नारायण झासँग नयाँ गीत रेकर्ड गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
'एनडिटिभी' का अनुसार रानुले 'कह रही हैं नजदीकियां' बोलको गीत हिमेश र उदितसँगै रेकर्ड गराएकी हुन्। रेकर्डक्रमको भिडिओ हिमेश रेशमियाले आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन्।
सामाजिक सञ्जालबाट भाइरल भएकी रानुले अघिल्ला गीत झैं यसमा पनि आफ्नो 'कमाल' देखाएकी छन् भने प्रशंसकहरूले खुबै तारिफ गरेका छन्। रलवे स्टेशनमा गाउँदै गुजारा चलाउने रानुले उदित नारायणसँग गाउन पाउने अवसर आफ्नै प्रतिभाका कारण पाएकी हुन्।
यो सफलताको भर्याङ उक्लिन भने हिमेश रेशमियाले धेर मद्दत गरे। रानुले रेलवे स्टेशनमा 'एक प्यारका नग्मा है' गाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै उनी चर्चामा आएकी हुन्।
रानु र हिमेश रेशमियाको भेट सोनी टिभीको कार्यक्रम 'सुपरस्टार सिंगर' मा भएको थियो। त्यही मञ्चमा रानुको स्वर सुनेर कायल भएका हिमेशले आफ्नो फिल्ममा गाउन उनलाई अनुरोध गरेका थिए। उनले अहिलेसम्म पाँच–छ वटा गीत रेकर्ड गराइसकेको बताएकी छन्। यसमा 'तेरी मेरी कहानी' सार्वजनिक भइसकेको छ भने 'आ..आ..आशिकी'को पनि टिजर रिलिज भइसकेको छ।
बाटामा मागेर गुजारा गर्दै आएकी ६० वर्षीया रानुको बदलिएको जीवनका लागि धेरैलाई शुभकामना दिएका छन्। उनलाई 'रानाघाटकी लता मंगेशकर' भन्दै प्रशंसकहरूले खुबै सरहाना गरेका छन्
।पछिल्लो समय उनको चर्चासँगै उनका जीवनका पाटाहरू पनि खुल्ने क्रममा छन्। केही समयअघि मात्रै वर्षौंदेखि भेट नभएकी उनकी छोरी एलिजावेद स्वाती भेट्न आएकी थिइन्। रानुका धेरै प्रशंसकले एलिजावेदलाई आमा गरिब हुँदा छाडेको र अहिले चर्चा पाएपछि भेट्न आएको आरोप लगाएका छन्। रानुले यसबारे केही नभने पनि एलिजावेदले विभिन्न सञ्चारमाध्यममा आफ्नो बचाउ गर्दै आएकी छन्।
एलिजावेदले रानु धेरै वर्षअघि नै डिप्रेसनको रोगी भएको बताउँदै आएकी छन्। साथै रानु आफ्नो घरमा बस्न नसकेका कारण आफैं हिँडेको उनको भनाइ छ। उनले रानुका दुई बिहे भएको र उनका अरू छोराछोरी रहेको पनि बताउँदै आएकी छन्। तर यसबारे पनि रानुले केही भनेकी छैनन्।
रानुले आफ्ना बारेमा जानकारी दिने क्रममा आफू राम्रै परिवारमा जन्मेको र हजुरआमासँग हुर्केको बताएकी थिइन्। बिहेपछि मुम्बई आएको बताउँदै उनले आफ्ना श्रीमान बलिउड अभिनेता फिरोज खानको घरमा कुक काम गर्थे भनेकी थिइन्। पछि पारिवारिक समस्याका कारण आफ्नो जीवन संघर्षमय भएको उनको भनाइ छ।
सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म उनको चर्चा चलिरहेको छ। फिल्म निर्माता ऋषिकेश मन्डलले रानुको जीवनमा आधारित फिल्म बनाउने भएका छन्। यो बायोपिकमा ऋषिकेशले राष्ट्रिय फिल्म अवार्ड विजेता बंगाली अभिनेत्री सुदीप्ता चक्रवर्तीले रानुको भूमिका निर्वाह गर्ने पनि उनले बताएका छन्।
अभिनेत्री सुदीप्ताले पनि आफूलाई रानुको बायोपिकको प्रस्ताव आएको स्वीकारेकी छन्। तर निधो भने गरेकी छैनन्।