बलिउडका महानायक अमिताभ बच्चनले आज शुक्रबार आफ्नो ७७ औं जन्मदिन मनाउँदैछन्। उनी सन् १९४२ मा तात्कालिन ब्रिटिस इण्डियाको अलाहाबाद(प्रयागराज)मा जन्मिएका थिए। करियरको सुरूवाती दिनमा लगातार फ्लप सिनेमा दिएर बलिउड छाड्ने मनस्थितिमा पुगेका अमिताभले अभिनयका लागि चार वटा राष्ट्रिय पुरस्कार जितेका छन्।
३० वर्षको उमेरसम्म पुग्दा उनले १२ फ्लप सिनेमा दिएका थिए। यसक्रममा उनी अभिनित 'बम्बे टु गोवा' र 'आनन्द' मात्र हिट भए। त्यसपछि सन् १९७३ मा त्यस समयमा चलेका थुप्रै हिरोले खेल्न अस्वीकार गरेको एउटा सिनेमामा काम गर्ने मौका पाए। सिनेमाको नाम थियो-जंजीर। सो सिनेमाले उनलाई बलिउडमा सुपरस्टार हुने बाटो खोलीदियो। त्यसपछि उनले आफ्नो करियरमा फर्किएर हेर्नुपरेन।
अमिताभ बच्चन भारतका हिन्दी साहित्यका चर्चित कवि हरिवंश राय बच्चनका छोरा हुन्। आफ्ना अन्तरवार्ताहरूमा अमिताभले आफ्ना बाबुसँग बेग्लै खाले सम्बन्ध रहेको चर्चा गर्ने गरेका छन्।
उनले आफ्ना बाबुसँगका थुप्रै प्रसंगहरू सार्वजनिक गरेका छन् तर ती मध्ये दुई वटा प्रसंगचाँहि निक्कै नै रमाइलो छन्।
पहिलो प्रसंग
एकदिन आफ्ना पितालाई अमिताभले रिसाउँदै सोधे, 'तपाईले मलाई किन जन्माएको? उनको यस प्रश्नमा उनका पिताले उनलाई तत्काल कुनै जवाफ दिएनन्। छोराको प्रश्नबाट केही हैरान भएका हरिवंशले त्यसको जवाफमा अमिताभलाई एउटा कविता लेखेर दिए।
'जीन्दगीको संघर्षबाट डराएको मेरो छोरोले
मलाई सोध्यो।
मलाई किन जन्माएको?
तर
मसँग यो बाहेक यसको कुनै जवाफ छैन।
कि मलाई पनि मेरा बाबुले मलाई नसोधी
किन जन्माएका थिए?
र
मेरो बाबुलाई पनि उनको बाबुले उनलाई पनि नसोधि नै जन्माए
र उनका बाबुले पनि उनलाई।
जीन्दगी र दुनियाँमा संघर्ष पहिला पनि थियो
आज पनि छ......
सायद अझ बढी
भोली पनि हुनेछ
झनै बढी।
तिमीले नै नयाँ बाटो कोर्नु
आफ्नो छोरालाई उसैसँग मात्र सोधेर जन्माउनु....
दोश्रो प्रसंग
पितासँगको अर्को एक प्रसँग अमिताभले यसरी सम्झेका छन्। सरकारी नोकरी गर्ने उनका पिताको कमाइले पुगेस पुगेस नै हुन्थ्यो। त्यसैले घर चलाउनका लागि उनका पिता विभिन्न कवि सम्मेलनमा गइरहन्थे। ती सम्मेलनबाट उनले ५०० देखि १००० रुपियाँ पाउँथे।
यसका कारणले उनी घर फर्कदा अबेर हुन्थ्यो। कहिँलेकाँही त बिहानको ३-४ पनि। उनका लागि अमिताभले नै ढोका खोल्थे। उनी पितालाई सोध्थे, 'बुबा यस्तो अबेर किन गर्नुहुन्छ?' पिताले जवाफ फर्काउँथे 'छोरा पैसा कमाउन गार्हो छ।'
पछि अमिताभ फिल्ममा व्यस्त हुन थाले। उनी पनि दिनको तीन-तीन सिफ्ट काम गर्न थाले। उनी पनि विहान अबेर ६ बजे घर झुल्किन्थे। उनका पिताजी उनलाई अमिताभले पहिला सोध्ने प्रश्न सोध्थे' के हो छोरा घर आउने समय यही हो?' आफ्नो प्रश्नबाट आफूलाई नै व्यंग्य कसेका बाबुलाई अमिताभ पनि बाबुकै उत्तर दिन्थे, 'पिताजी पैसा कमाउन गार्हो छ।'