बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्रफको 'वार' यो वर्षकै धेरै कमाइ गर्ने फिल्म बनेको छ। 'वार'को कमाइले मंगलबार यो वर्षकै धेरै कमाइ गर्ने शाहिद कपुरको फिल्म 'कबीर सिंह'को रेकर्ड तोडेको हो।
बलिउडका व्यापार विश्लेषक तरण आदर्शका अनुसार 'वार'ले विश्वव्यापीरूपमा ४०० करोड भारू बढी कमाइ गरेको छ।
सिनेमाले रिलिजको १३ दिनमा कुल ४०६.५ करोड भारू कमाएको छ। यसमध्ये भारतमा ३३२ करोड कमाएको हो भने डायस्पोराबाट ७९.५ करोड भारू कमाएको हो।
यो कमाइसँगै सिनेमा 'कबीर सिंह', विक्की कौशलको 'उरीः द सर्जिकल स्ट्राइक'लाई उछिनेर अघि बढिरहेको छ। यसको रफ्तार अझै जारी छ।बक्सअफिस इण्डियाका अनुसार सोमबारमात्र सिनेमाले १० करोड भारू कमाएको छ।
'वार'ले रिलिजको तेस्रो दिनमा १०० करोड, सातौं दिनमा २०० करोड र ११ औं दिनमा २५० करोड भारू कमाउँदै रेकर्ड तोडेको हो। ऋतिक र टाइगर दुवैका लागि हालसम्मकै धेरै कमाउने फिल्म हो।
योसँगै बलिउडमा यो वर्ष सबभन्दा धेरै कमाउने फिल्म 'वार' बनेको छ भने दोस्रोमा अब 'कबीर सिंह' पुगेको छ। तेस्रोमा विक्की कौशलको 'उरीः द सर्जिकल स्ट्राइक', चौथोमा सलमान खानको 'भारत' र पाँचौंमा अक्षयकुमारको 'मिसन मंगल' छ।
'वार'मा ऋतिक र टाइगरका अलावा वाणी कपुर, अनुप्रिया तथा दीपानिता शर्माको मूख्य भूमिका रहेको छ। सिनेमा हिन्दीका अलावा तमिल तथा तेलेगुमा भाषामा पनि रिलिज गरिएको थियो।