बलिउड अभिनेता रणवीर सिंह आफ्नी पत्नी दीपिका पादुकोणको हर कुरामा नतमस्तक हुने गर्छन्।
उनी पत्नीको कुरामा नतमस्तक हुने मात्र होइन केही कुरामा आफ्नी पत्नीलाई गुरू नै मान्दछन्। हालै दिएको एक अन्तरवार्तामा उनले यसको खुलासा गरेका हुन्।
रणवीरले दीपिकाबाट समय व्यवस्थापनका बारेमा सल्लाह लिने गरेको खुलासा गरे। उनले दीपिका आफ्नो व्यक्तिगत र व्यवसायिक समयको सन्तुलन मिलाउन माहिर भएको बताए। शनिबार मुम्बईमा एक घडीको ब्राण्ड एम्बेसेडर नियूक्तिको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
'हाल म आफ्नो काममा व्यस्त छु। यस्तोमा आफूलाई असाध्ये मनलाग्ने कुरा गर्न पाउनु भनेको एउटा सुविधा भोगे बराबर हुन्छ। त्यसैले म हरेक कुरामा सन्तुलन मिलाउने कोशिसमा लागिरहेको छु', रणवीरले भने।
'जब समय मिलाउने कुरा आउँछ तब म मेरी सुन्दरी पत्नीको बाटोलाई आँखा चिम्लेर पछ्याउँछु। उनी समयको व्यवस्थापनमा एकदमै कुशल छिन्। त्यसैले म यसबारेमा उनीसँग उपायहरू लिइरहन्छु र यसलाई मैले राम्रो बनाउँदै लगिरहेको छु', रणवीरले थपे।
बलिउडमा प्रेमजोडीसँगै आदर्श विवाहित जोडीसमेत बनिरहेको यो जोडी छिट्टै कबीर खानको '८३' सिनेमाबाट एकसाथ पर्दामा आउँदैछन्।