भारतका पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूबारे आपत्तिजनक टिप्पणी गरेपछि पक्राउ परेकी बलिउड अभिनेत्री पायल रोत्हागीलाई अदालतले आठ दिनका लागि हिरासतमा पठाएको छ।
पायलले सामाजिक सञ्जालमार्फत नेहरू परिवारबारे टिप्पणी गरेपछि गत आइतबार राजस्थानको बुन्दी प्रहरीले उनलाई पक्राउ गरेको थियो।
सोमबार राजस्थान बुन्दीको जिल्ला अदालतले धरौटीमा छुट्ने निवेदन अस्वीकार गर्दै आठ दिनसम्म थुनामा राख्न निर्देशन दिएको छ।
पायलले आफू पक्राउ पर्नुअघि नै गत डिसेम्बर १३ तारिखका दिन धरौटीमा छुट्न पाउँ भन्दै निवेदन दिएकी थिइन्। पायलले आफ्नो फेसबुकमार्फत भिडिओ बनाई नेहरू परिवारबारे टिप्पणी गरेकी थिइन्।
उनले जवाहरलाल नेहरूका पिता मोतीलाल नेहरू र जवाहरलालकी श्रीमतीको 'बदनाम' समेत गरेकी थिइन्।
उक्त भिडिओ सार्वजनिक भएपछि कंग्रेस युवा नेता चर्मेस शर्माले सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा मुद्दा दायर गरेका थिए।
साथै शर्माले यस भिडिओले प्रधानमन्त्रीको मानहानी मात्रै नभई छाडापन फैलिने र महिलाहरूको अपमान हुने बताए।
पायलले उक्त भिडिओबारे माफीसमेत मागिसकेकी थिइन्।