शुक्रबार सलमान खान स्टारर 'दबंग ३' प्रदर्शन हुँदैछ।
सिनेमाले वक्सअफिसमा आक्रामक व्यापार गर्ने अनुमान बलिउडका व्यापार विश्लेषकहरूले गरेका छन्।
सिनेमालाई लिएर प्रदर्शक र वितरकहरूमा ठूलो उत्साह छ र त्यसको असर नेपाली हलहरूसम्मै आइपुगेको छ।
सलमानको यस एक्सन फ्रान्चाइजले नेपालका ९० प्रतिशत बढी पर्दाहरूमा झण्डै शतप्रतिशत शो पाएको छ।
नेपालका मल्टिप्लेक्सहरूले दिएको शो संख्याले सलमानको स्टारपावर नेपाल ठूलो रहेको फेरी प्रमाणित गरेको छ।
देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आफ्ना १२ मल्टिप्लेक्समा करिब ९१ प्रतिशत शो 'दंबग ३'लाई दिएको छ। उसले देशभरका १२ मल्टिप्लकेक्समा ८८ को संख्यामा शो दिएको छ।
यस चेनका प्रबन्ध निर्देशक रोशन अडिगाले सिनेमाका अघिल्ला दुई सिक्वलहरूको प्रदर्शन र अन्य नयाँ सिनेमा यस साता रिलिज नभएकाले पनि सलमानले अधिक शो पाएको बताए।
गत साता रिलिज भएका सिनेमाहरूले खासै उलेख्य व्यापार नगर्नु पनि सलमानका लागि फाइदाजनक भएको छ।
क्यूएफएक्स जस्तै राजधानीका अन्य मल्टिप्लेक्सले पनि 'दबंग ३'लाई प्राथमिक्ता दिएका छन्। अधिकाशं मल्टिप्लेक्सले सिनेमालाई शतप्रतिशत शो उपलब्ध गराएका छन्।
कमलपोखरीमा रहेको बिग मुभिजले ३ पर्दामा १५ शो दिएको छ भने दुई स्क्रिन रहेका क्यूज, सिने डि सेफ, बिएसआरले क्रमश १०, ८ र ९ शो उपलब्ध गराएका छन्।
सिनेमाको नेपाल प्रदर्शनका लागि यसका वितरक गोपी कृष्ण इन्टरटेन्मेन्टले महँगो रकम तिरेको छ। गोपी कृष्णका इन्टरमेन्टका वितरण प्रमुख निरज पौडेलले सिनेमाको नेपाल अधिकार दुई करोड ५० लाख रुपैयाँ खरिद गरिएको बताए।
नेपालका करिब १५० हलमा रिलिज हुने सिनेमाले शुक्रबार, शनिबार र आइतबार गरेर ३ दिनमा ३ करोडमाथिको व्यापार गर्ने अनुमान गरिएको छ।