केही दिनअघि फोर्ब्स भारतले यस वर्ष भारतीय कलाकारहरूको कमाइ सूची सार्वजनिक गरेको थियो। सूचीमा अभिनेत्री कंगना रनावत ७० औं स्थानमा छिन्।
उनको वार्षिक कमाइ १७ करोड ५० लाख भारू भएको बताइएको छ।
तर यो कमाइ र स्थानमा कंगनाकी बहिनी रंगोली चंदेलले आपत्ति जनाएकी छिन्। फोर्ब्सले कंगनाको ब्रान्ड भ्यालू कम गर्न खोजेको भन्दै उनले सूचीमा आपत्ति जनाएकी हुन्।
रंगोलीका अनुसार सूचीमा देखाइएको कमाइ भन्दा बढी त कंगनाले कर नै तिर्छिन्। त्यस्तै कंगनाका निकट व्यक्तिहरूले फोर्ब्सले कमाइ आँकाडा छाप्नुअघि कंगना वा उनीसँग सम्बन्धित कोहीसँग सम्पर्क नगरेको बताएका छन्। उनीहरूले एक जना अभिनेताको इशारामा कंगनाको ब्रान्ड भ्यालु खराब गर्न ७० औं स्थानमा राखिएको आरोप लगाएका छन्।
उनीहरूले कलाकारहरूले नभएको कमाइ भनेर पनि सूचीमा आफ्नो नाम समावेश गराउने चलन रहेको पनि बताएका छन्। फिल्म र विज्ञापनमा आफ्नो माग बढोस् र पारिश्रमिक धेरै होस् भनेर यो सूचीमा पर्ने इच्छा धेरैको हुन्छ।
रंगोली र कंगना निकट व्यक्तिहरूले फोर्ब्समाथि झुटो सूची जारी गरेको आरोप लगाए पनि फोर्ब्सले यसबारे केही प्रतिक्रिया नदिने बताएको छ।
फोर्ब्सका एसोसिएट सम्पादक सलिल पञ्चालले भनेका छन्, 'रंगोलीको दावीमा हामीलाई केही भन्नु छैन। सूची जारी गर्नुअघि हामीले कंगनालाई इमेल गरेका थियौं। रह्यो कुरा प्रमाणको, त्यो हामी दिन सक्दैनौं। हामी कलाकारहरूको कुल सम्पत्तिका आधारमा कमाइ गणना गर्दैनौं। हाम्रो आधार भुक्तानीबाट हुने कमाइ हो। यो पनि कुनै एक खास समयावधिभित्र पाउने भुक्तानी। त्यसैका आधारमा हामीले सूची जारी गर्ने हो।'
यो सूचीको पहिलो नम्बरमा क्रिकेटर विराट कोहली छन् भने दोस्रोमा अभिनेता अक्षय कुमार र तेस्रो नम्बरमा सलमान खान छन्।
त्यस्तै चौथोमा अमिताभ बच्चन, पाँचौंमा महेन्द्रसिंह धोनी, छैठौंमा शाहरूख खान, सातौंमा रणवीर सिंह, आठौंमा आलिया भट्ट, नवौंमा सचिन तेन्दुलकर र दसौंमा दीपिका पादुकोण छन्।