भारतीय योगगुरू बाबा रामदेवले अभिनेत्री दीपिका पादुकोणले आफूलाई सल्लाहकार नियुक्त गर्नुपर्ने बताएका छन्।
दीपिकाले देशको सामाजिक-राजनीतिक विषयमा केही ठूलो निर्णय वा टिप्पणी गर्दा आफूजस्ता सल्लाहकारको सुझाव लिनुपर्ने रामदेवले बताएका हुन्।
हिन्दुस्तान टाइम्सका अनुसार रामदेवले आफूहरू जस्ताले दिएको सल्लाहले दीपिकालाई दूरदृष्टि दिने पनि भनेका छन्।
केही समयअघि दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा भएको हिंसात्मक हमलाविरूद्ध दीपिकाले ऐक्यवद्धता जनाएपछि सरकार पक्षधरले उनको धेरै विरोध गरिरहेका छन्।
यही बेला रिलिज भएको उनको फिल्म 'छपाक' पनि यो विरोध र आलोचनाको शिकार भएको छ।
जेएनयूमा भएको हिंसाविरूद्ध बोल्ने बलिउडको सबभन्दा ठूलो अनुहार दीपिकाको चर्चा चुलिएको छ।
यही सन्दर्भमा बाबा रामदेवले पनि उनले आफूलाई सल्लाहकार राख्नुपर्ने टिप्पणी गरेका हुन्।
'अभिनेत्रीका हिसाबले दीपिकाको प्रभाव बेग्लै छ। तर उनले सामाजिक, राजनीतिक र साँस्कृतिक मुद्दाहरूबारे अध्ययन गर्न र हाम्रो देशबारे अझै धेरै बुझ्न जरूरी छ,' रामदेवको भनाइ उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ, 'यो ज्ञान भएपछि मात्र उनले ठूल्ठूला निर्णय लिनुपर्छ।
रामदेव भारतमा विरोध भइरहेको नागरिक संशोधन ऐनका कडा समर्थक हुन्। यो कानुन आलोचना गर्नेलाई उनले प्रधानमन्त्री नरेन्द्र मोदीका विरोधी पनि भनेका छन्।'
प्रधानमन्त्री र गृहमन्त्रीले भनेकै छन् यो कानुन नागरिकता खोस्न हैन, दिन बनेको हो। तर मान्छेहरू अझै यसको विरोध गरिरहेका छन्,' रामदेवले भनेका छन्।
रामदेवले केही मान्छेले बेकारमा नागरिकताबारे नकारात्मक धारणा फैलाएको आरोप पनि लगाएका छन्।