रणवीर सिंहको मुख्य भूमिका र कबीर खान निर्देशनमा बनेको फिल्म '८३' को आधिकारिक लागत सार्वजनिक भएको छ।
क्रिकेटर कपिल देव र टिम इन्डियाले विश्व कप जितेको समयमा आधारित फिल्म '८३' को निर्माता कम्पनी रिलायन्स इन्टरटेनमेन्ट हो।
यो फिल्मको लागत ३२० करोड रूपैयाँ रहेको कम्पनीले जनाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म निर्माणमा करिब २५० करोड खर्च भएको र मार्केटिङमा करिब ७० करोड खर्च हुने कम्पनीले जनाएको छ।
फिल्मको बजेट पहिल्यै निश्चित भएको पनि कम्पनीले बताएको छ।
'८३' मा कपिल देवको भूमिका रणवीर सिंहले निर्वाह गर्दैछन् भने कपिल देवकी श्रीमतीको भूमिकामा दीपिका पादुकोण छिन्।
रिलायन्स इन्टरटेनमेन्टमा सिइओ शिवाशीष सरकारका अनुसार रिलायन्स ब्यानरबाट यही वर्ष ठूला बजेटका दुई फिल्म आउँदैछन्।
मार्चमा रिलिज हुने 'सूर्यवंशी' र अप्रिलमा '८३'। दुवै फिल्मको कुल बजेट करिब करिब सात सय करोड रूपैयाँ हुनेछ।
रोहित शेठ्ठीको निर्देशनमा बन्दै गरेको 'सूर्यवंशी' मा अक्षय कुमार, अजय देवगनका साथै रणवीर सिंह पनि देखिनेछन्।