संजय लिला भन्सालीले आलिया भट्टलाई लिएर 'गंगूबाई काठियावाडी'नामक वायोपिक बनाउँदैछन्।
सिनेमा सन् १९६० को दशकमा मुबईंको कमाठीपुरामा एउटा 'वेश्यालय' चलाउने गंगूवाईको जीवनी बताउनेछ।
एस हुसौन जैदी र जेन बोर्गेसले लेखेको 'माफिया क्वीन्स अफ मुम्बई' नामक किताबमा सिनेमा आधारित हुनेछ।
सिनेमाले कसरी एउटा सम्भ्रान्त परिवारकी पढालेखा युवती वेश्यावृत्तिमा लाग्छिन् र देहव्यापारका लागि बदनाम कमाठीपूरामा शासन गर्छिन् भन्ने बारेमा आफूलाई पेस गर्नेछ।
गंगूबाईको जीवन साँच्चिकै सिनेमाको कथा जस्तो लाग्छ।
खासमा गंगूबाईको असली नाम गंगा हरजीवनदास काठियावाडी हो। उनी गुजरातको काठियावाडमा जनमिएकी थिइन्। हुर्काइबढाइ र पढाइलेखाइ सबै उनको त्यही भयो।
'माफिया क्वीन्स अफ मुम्बई'मा उनका बारेमा खानदानी परिवारकी छोरी कसरी वेश्यावृतिमा आइन् र गंगाबाट कसरी 'गंगुबाई' भइन भन्ने बारेमा लेखिएको छ।
उनलाई धोकाले वेश्यावृत्तिमा ल्याइएको थियो।
सम्पन्न परिवारकी गंगाको आफ्नैमा काम गर्ने रमणीलाल नामक एकाउन्टेन्टसँग माया बस्यो। उनको सम्पन्न परिवार वकालत पेसासँग जोडिएको थियो।
दुबैको सम्बन्धलाई परिवारले नमानेपछि उनी रमणीलालसँग १६ वर्षको उमेरमा भागिन्। भागेर मुम्बई आएकी गंगालाई सँगै बाँच्नेमर्ने कसम खाएका रमणीलालले मात्र ५०० रुपैयाँमा कमाठीपुराको वेश्यालयमा बेचिदिन्छन्।
बेचिएपछि उनीसँग परिवारमा फर्किने बाटो बन्द हुन्छ र उनी बाध्यताले शरिर बेच्ने पेसामा लाग्छिन्।
शुरूमा उनी आम नगरवधु जस्तै थिइन तर जीवनमा घटेको एउटा घटनाले उनलाई बलशाली 'गंगुबाई' मात्र बनाउँदैन, कमाठीपुराकी हर्ताकर्ता पनि बनाउँछ।
कमाठीपूरामा उनको प्रभाव यतिसम्म हुन्छ कि उनले कमाठीपुराको स्थानिय चुनाव नै जित्छिन्। उनको नाममा जोडिएको काठियावाडीले नै उनी त्यो ठाउँसँग कसरी र कतिसम्म जोडिएकी थिइन् भन्ने स्पष्ट पार्छ।
सन् १९६० र ७० को दशकमा कमाठीपुरामा उनी चर्चित बनिन्।
शरिर बेच्ने महिलाका लागि उनको छवि आमा सरह थियो। उनले सो समयमा वेश्यालय चलाउने अन्य 'म्याडम'हरुको प्रभाव खत्तम गरिदिएकी थिइन्।
गंगूबाई सुनौलो किनारा भएको सेतो साडी, सुनौलो टाँक भएको ब्लाउज र सुनौलो चस्मा सजिने गर्थिन्। त्यतिमात्र होइन, त्यो समय उनी आफै कार चलाएर हिँड्थिन्।
उनलाई सुनबाट बनेका कुराहरु लगाउने ठूलो सोख थियो। सानोमा उनी अभिनेत्री बन्न चाहन्थिन्। सिनेमाप्रति उनको लगाव पछिसम्मै रह्यो।
उनले धोका दिएर बेचिएका थुप्रै युवती र केटीहरूलाई घर फर्काउन सहयोगसमेत गर्थिन्।
यस कामसँग जोडिएका महिलाको सुरक्षाप्रति उनी विशेष सजग थिइन।
महिला विरुद्ध हुने अन्यायकाविरुद्ध उनको आवाज सँधै उठ्थ्यो र त्यस्तो गर्नेहरुविरुद्ध उनी आवश्यक कदम चाल्नसमेत पछि पर्दिनथिइन्।
शहरमा शरिर बेच्न चाहनेहरुका लागि छुट्टै स्थान हुनुपर्ने उनको धारणा थियो। मुम्बईको आजाद मैदानमा महिला सशक्तिकरण र महिला अधिकारका लागि आयोजना भएको र्यालीमा उनले गरेको भाषणले त्यो समय एकदमै चर्चा कमाएको थियो।
गंगूबाईको निधनपछि कयौं वेश्यालयहरुमा उनको सम्झनामा तस्वीर लगाउनेसँगै मूर्तिसमेत बनाइ स्थापना गरिए। यसबाट उनको प्रभाव कति थियो सहजै अनुमान लगाउन सकिन्छ।
गंगूबाईको यो हैसियतमा पुग्न तात्कालिन समाको मुम्बई अण्डरवल्डका डन करिम लालाको प्रमुख हात छ।
कमाठीपुरामा घटेको एक घटनाले गंगालाई गंगुबाई बनाउने बाटो खनेको थियो।
गंगाले देहव्यापार गर्ने क्रममा उनलाई एक पुरुषले जबरदस्ती गर्ने प्रयास गर्दै चोट दिए। उनले पैसा पनि दिदैंनथे। यो क्रम लगातार चलिरह्यो।
एकपटक त झण्डै उनलाई अस्पताल पुर्याउने अवस्थासमेत आयो। उनले यो अन्यायबाट उम्कने उपाय सोचिन्।
आफूलाई त्यस्तो गर्ने पुरुषको जानकारी जुटाइन्। शौकत खान नाम गरेका यी व्यक्तिको सम्बन्ध करीम लालाको ग्याङसँग सम्बन्ध रहेको पत्ता लगाइन्।
करिम लालासँग जोडिएको भन्ने थाहा पाएपछि उनी करिम लालाकोमा पुगेर आफ्नो पीडा सुनाउँदै सुरक्षाको प्रत्याभूति माग्छिन्। करिम लालाले उनलाई त्यसको ग्यारेन्टी दिन्छन्।
फलस्वरुपः अघिल्लो दिन वेश्यालय पुगेका शौकत खानलाई करिम लालाका मान्छेले पिट्नु पिट्छन्। करिम लालाले उनलाई आफ्नो बहिनी बनाउँछन्। यसपछि गंगूबाईको कमाठीपूरामा दब्दबा बढ्न थाल्छ।
करिम लालाकी बहिनीसँग त्यसपछि कसले टक्कर लिने। करिम लालाको छायाँमा शक्ती आएकी गंगूबाई त्यसपछि देह बेच्ने महिलाको लागि एउटा बलियो छअरी बन्छिन्।
यस्तैमा एकदिन कमाठीपूराबाट वेश्यालय हटाइनुपर्ने आवाज मुखरित हुन थाल्छ।
सन् १९६० मा कमाठीपुरामा सेन्ट एन्थोनी गल्र्स हाई स्कूल शुरू भएपछि उठेको यो आवाजविरुद्ध गंगूबाई खडा हुन्छिन्।
त्यतिबेला स्कूल नजिक वेश्यालय हुनाले त्यसको असर स्कूले केटीहरुमा पर्ने भन्दै वेश्यालय बन्द गर्नुपर्ने आवाज उठ्न थाल्यो। त्यो चर्किएको आवाजले एक शताब्दीदेखि चलेको वेश्यालयमा काम गर्ने महिलामाथि नराम्रो असर गर्नेवाला थियो। गंगूबाईले त्यसविरुद्ध आवाज उठाइन् र त्यसलाई बुलन्द गर्न आफ्नो पूरा शक्ति खर्च गरिन्।
यसले उनले तात्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसम्म पुर्यायो। वेश्यालयका विरुद्ध उठेको आवाजका विरुद्ध उनी आफ्नो राजनीतिक चिनजानको प्रयोगबाट नेहरुसम्म पुगेकी थिइन्।
आधिकारिकरुपमा यो भेटको कहिँकतै उल्लेख छैन, लेखिएको छैन। तर हुसैन जैदीले यस प्रसंगलाई आफ्नो किताबमा उल्लेख गरेका छन्।
'गंगूबाईलाई भेटेपछि उनको सतर्कता र स्पष्ट विचारबाट नेहरूसमेत चकित भए। नेहरूले गंगूबाईलाई राम्रो जागिर र पति पाउने सम्भावना हुँदाहुँदै यो पेसामा आउनुको कारण सोधे', जैदीले किताबमा लेखेका छन्।
यसपछि जे उत्तर गंगूबाईले दिइन् त्यसले नेहरूलाई वेश्यालय बन्द गर्ने योजनाबाट पछि सर्न बाध्य पार्यो।
नेहरूसमक्ष उनले एउटा यस्तो प्रस्ताव राखिन् जुन उनले पूरा गर्न सक्दैनथिएँ।
गंगूबाईले सो भेटमा नेहरूले उनलाई पत्नीका रुपमा स्विकार गर्न तयार भए सँधैलाई यो काम छोड्ने प्रस्ताव राखिन्।
नेहरू उनको कुरा सुनेर अवाक् भए। उनले गंगूबाईको प्रस्ताव स्वीकारेनन्।
अवाक भएका नेहरूलाई सजिलो पार्ने जवाफ पनि गंगूबाईले नै दिएको किताबमा उल्लेख छ।
'प्रधानमन्त्रीजी नरिसाउनुहोला, म त मात्र आफ्नो कुरा प्रमाणित गर्न चाहन्थे, बुझाउन चाहन्थे। सल्लाह दिन सजिलो छ तर आफैले लागू गर्न गार्हो छ', उनले नेहरूलाई यस्तो जवाफ फर्काएकी सो किताबमा लेखिएको छ।
गंगूबाईको यो तर्कपछि नेहरूले अर्को कुनै जवाफ दिएनन्।
सो भेटमा नेहरूले गंगूबाईको मागमाथि ध्यान दिने वाचा गरे। यो भेटपछि कमाठीपूराबाट वेश्यालय हटाउने काम कहिले अगाडि बढेन।
संजय लिला भन्सालीले यही विषयमाथि सिनेमा बनाउन लागेका हुन्। सिनेमाको फस्ट लुक सार्वजनिक भइसकेको छ। आलिया भट्ट गंगूबाईको भूमिकामा देखिनेछिन्।
सिनेमा यसै वर्षको सेप्टेम्बर ११ मा रिलिज हुनेछ।