जय-वीरु, ठाकुर, गब्बर, शाम्भा जस्ता पात्रलाई अमर बनाउने सिनेमा 'शोले' आज एउटा क्लासिक सिनेमामा पर्छ।
रमेश सिप्पीको निर्माण र निर्देशनमा बनेको सिनेमाले अमिताभ, धर्मेन्द्र, अमजद खान, संजिब कपुर, म्याक मोहनलाई दर्शकको मनमा मात्र बसाएन यसका लेखक जोडी 'सलिम-जावेद'लाई समेत स्टार लेखक बनाइदियो। उनीहरु पोस्टरमा लेखिनुपर्ने महत्वपूर्ण नाम बने। उनीहरुकै कारण बलिउडमा लेखकको भाउ बढ्न गयो।
सिनेमाले लोभलाग्दो सफलता हात पार्यो। सिनेमाको लोकप्रियताले गर्दा नै सिनेमा पछि थ्रिडीमा समेत रुपान्तरण भएर रिलिज भयो।
सफलताले त्यसअघि त्यसलाई स्पष्ट आकार दिन गरिएको दुःख संघर्षलाई बिर्साउँछ, छोप्छ। त्यस्तै बाटोबाट 'शोले' गएको थियो।
सिनेमामा निर्देशकको पहिलो रोजाइमा रहेका कलाकारहरू विविध कारणले भएनन्। यस्तै सिनेमा बनाउँदै गर्दा आर्थिक अभावको सामना पनि निर्माताले गरे। जेजे भएपनि आज 'शोले' हेर्दा जति रोचक छ, त्यति नै रोचक योसँग जोडिएका तथ्य र किस्सा छन्। सिनेमाका त्यस्तै १० तथ्य यस्ता छन् जुन 'शोले'का फ्यानका लागि रुचिकर हुनसक्छ।
१. सिनेमा बनाउन निर्माता-निर्देशक रमेश सिप्पीले ३ करोड भारू खर्च गरेका थिए। सिनेमाले पछि यसको गतिलै मुनाफा दियो। सिनेमाले आज पनि कमाइ गरिरहेकै छ।
२. एक अन्तरवार्तामा रमेश सिप्पीले 'शोले' बनाउँदा आफूसँग प्रयाप्त बजेट नभएको बताएका छन्। पैसा नभएपछि उनले आफ्ना बाबु जिपी सिप्पीसँग आर्थिक सहयोग मागेका थिए। ३ करोड बजेटमा २० लाख कलाकारको पारिश्रमिकमा खर्च भएको थियो।
३. सिनेमा गब्बर सिंहको रोल पहिला ड्यानी डेन्जोङ्पालाई दिइएको थियो तर उनी अर्कै सिनेमामा व्यस्त भएपछि अमजद खानलाई कास्ट गरिएको थियो।
४. १५ अगस्ट १९७५ मा रिलिज भएको सिनेमा सय दिनसम्म हलमा चलिरह्यो। त्यो समयमा यस्तो गर्ने 'शोले' पहिलो सिनेमा थियो।
५. पहिला सिनेमाको नाम 'शोले' नभइ 'मेजर साहब' वा 'एक दुई तीन' राख्ने सोचिएको थियो तर बनिसकेपछि 'शोले' राखियो।
६. गब्बर सिंह एउटा डाँकु थियो, जसलाई अमजद खानले अमर बनाइदिए।
७. सिनेमा बनाउने बेलामा ठाकुरको रोल धर्मेन्द्रलाई मनपरेको थियो। सो समय उनी हेमासँग मायामा थिए। सिप्पीले धर्मेन्द्रलाई हेमासँग स्क्रिनमा धेरै देख्न पाइने भन्दै लोभ्याएर 'विरू'को भूमिकाका लागि फकाएका थिए। उनले धर्मेन्द्र ठाकुर बने विरूको रोल संजीब कुमारलाई दिने भन्दै 'च्याँखे' समेत थापेका थिए। संजीब पनि हेमालाई खुबै मनपराउने भएकाले सिप्पीले सो च्याँखे थापेका थिए। यस्तो धर्मेन्द्र पर्दामा संजीबले पर्दामा हेमासँग रोमान्स गरेको हेर्न चाँदैन्थे।
८. यस्तै संजीब कुमार गब्बर बन्न चाहन्थे तर सिनेमा लेखक जोडी सलिम-जावेदलाई संजीबको पछिल्लो सिनेमाका कारण जनताले घृणा गर्दैन भन्ने लाग्यो। उनीहरु मानिसहरु गब्बरको भूमिकालाई मानिसहरुले अत्याधिक घृणा गरुन भन्ने चाहन्थे।
९. रमेश सिप्पी 'जय'को भूमिका शत्रुघन सिन्हाले गरुन भन्ने चाहन्थे तर ठूला स्टारहरूलाई देखेर उनले सिनेमा खेल्न मानेनन्। सो समय अमिताभ बच्चन खासै चर्चित थिएनन् तर 'जंजीर'मा गरेको कामबाट सलिम-जावेद खुशी थिए। उनीहरुले नै रमेशसमक्ष अमिताभको सिफारिस गरेका थिए।
१०. रिलिजपछि समीक्षकहरूले नकारात्मक प्रतिक्रिया दिएका थिए। उनीहरुले 'शोले'लाई गम्भिर दोषपूर्ण प्रयास, नक्कली वेस्ट्रन भन्दै चर्को आलोचना गरेका थिए।