शुक्रबार रिलिज भएका दुई बलिउड सिनेमा 'पंगा' र 'स्ट्रिट डान्सरःथ्रीडी' दुबै सिनेमाले दर्शकबाट सुखद प्रतिक्रिया बटुलेका छन्।
तर व्यापारको मामिलामा भने कंगना रनौटको 'पंगा'लाई वरूण धवन र श्रद्धा कपुरको 'स्ट्रिट डान्सरःथ्रीडी'ले पछि पारेको छ।
रिलिजको पहिलो दिन 'पंगा'ले २.७० करोड भारू कमाउँदा 'स्ट्रिट डान्सरःथ्रीडी'ले भने त्यसको पाँच गुना अर्थात १०.२६ करोड भारू कमाएको छ।
कमाइमा यो अन्तर कंगनाको सिनेमालाई कम दर्शकले हेरेर नभई सम्बन्धित सिनेमालाई दिइएको पर्दाले हो। 'पंगा' १४ सय पर्दामा रिलिज भएको छ भने 'स्ट्रिट डान्सरःथ्रीडी' ४४ सय पर्दामा रिलिज भएको छ।
कस्तो छ कंगनाको सिनेमा?
कंगनाको सिनेमा सामाजिक सन्देश बोकेको सिनेमा हो। सिनेमाले कसरी एक विवाहित महिला आफ्नो पारिवारिक जिम्मेवारी निर्वाह गरेर पुनः आफ्नो पुरानो जीन्दगीमा फर्केर सफलता हात पार्छिन् भन्ने कथा पेस गर्छ। सिनेमालाई समीक्षक तथा सिनेमाको कथा बुझ्ने दर्शकहरुले एकदमै तारिफ गरेका छन्। यसका बाबजुद सिनेमाको कमाइले केही निराशा 'पंगा'लाई भएको छ।
सिनेमाको कथा र कंगनाको साथमा सबै कलाकारले प्रशंसनिय काम गरेका छन्। यस्तोमा सिनेमाले माउथ पब्लिसिटीबाट दर्शक तान्ने अपेक्षा गरिएको छ। सिनेमाले सप्ताहन्तसम्म राम्रो कारोबार गर्ने अनुमान छ।