बलिउड अभिनेत्री सन्नी लियोन अब निर्माता पनि हुने भएकी छन्। उनको निर्माणमा बन्ने पिहलो फिल्मको सुटिङ सुरू भइसकेको छ।
'मेरो फिल्म यही वर्ष आउँछ। म उत्साहित छु। फिल्म आख्यान हो, यसमा कुनै सामाजिक सन्देश छैन। यो साइकोलोजिकल थ्रिलर फिल्म हो,' उनले भनेकी छन्।
सन्नी लियोनलाई बलिउडमा अभिनेत्रीका रूपमा जम्न निकै मुश्किल परेको थियो। अब निर्माताका रूपमा पनि निकै संघर्ष पर्ने उनले बताएकी छन्।
'बलिउडमा सलमान, आमिर र शाहरूख खान वा उनीहरूकै स्तरका ठूला फिल्म बनाउनेहरूलाई बाहेक अरूलाई निश्चित बजेटमै खुम्चिनुपर्ने बाध्यता हुन्छ,' सन्नीले भनेकी छन्, 'यदि बजेट र कथा मेरो नियन्त्रणमा हुन्छ भने मैले अरूलाई दोष दिने ठाउँ हुँदैन। यो सिद्धान्त म आफैंल लागू गर्नेवाला छु।'
फिल्मको काममा उनका श्रीमान ड्यानिअल वेबरले पनि सघाइरहेको उनले बताएकी छन्।
'हामीले सही मान्छे र ठाउँ चुनेका छौं। मसँग कुनै इगो पनि छैन। म त सेटमा पर्यो भने अरूलाई चिया बाँड्न पनि तयार छु। मेरा लागि सबै समान हुन्। त्यसैले हाम्रो फिल्म निर्माण र सुटिङ रोचक भइरहेको छ,' उनले भनेकी छन्।