परिवारका साथ नेपाल भ्रमणमा आउन लागेका लोकप्रिय भारतीय टेलिभिजन अभिनेता करणवीर बोहरालाई दिल्ली विमानस्थलले नेपाल आउन रोकेको खबर सार्वजनिक भएको छ।
करण स्वयंले आफूलाई नेपाल आउन रोकिएको बताएका हुन्।
आधारकार्ड बोकेर नेपाल घुम्न निस्केको भन्दै उनलाई नेपाल आउन नदिइएको हो। भारत सरकारको नियम अनुसार आधार कार्डलाई भ्रमण कागजात मानिदैन। नियम अनुसार हवाईयात्राका लागि यात्रीसँग अनिवार्य पासपोर्ट हुनुपर्छ।
यो प्रावधान हवाइयात्राका लागि मात्र हो, सडक यात्राको हममा भने यो लागु हुँदैन।
नेपाल आउन रोकिएपछि करणवीरले ट्विट गर्दै असन्तुष्टि व्यक्त गरेका छन्।
'नेपाल जान लाग्दा दिल्ली विमानस्थलमा डिपोर्ट गरियो। आधारकार्ड लिएर यात्रा गर्ने अनुमति छैन। नेपाल सरकारले यसको अनुमति दिएको छ भने मलाई किन डिपोर्ट गरियो। एयर इन्डियाले मुम्बईबाट उडान अनुमति दिसकेपछि यहाँ किन रोकियो?', करणवीरले ट्विट गरेका छन्।
एयर इन्डियाले यसको जवाफ करणवीरलाई उनकै ट्विटमा दिएको छ। एक फाइलसहित गरिएको पोस्टमा उसले नेपाल यात्रा गर्न अनिवार्य पासपोर्ट हुनुपर्ने बताइएको छ।