भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अभिनेता रजनीकान्तपछि 'म्यान भर्सेस वाइल्ड' मा अक्षय कुमार प्रवेश गरेका छन्।
सञ्चारमाध्यमहरूका अनुसार उनले कार्यक्रम प्रस्तोता बियर ग्रिल्ससँग सुटिङ सकिसकेका छन्। अक्षयको सुटिङ कर्नाटकको बान्दीपुर टाइगर आरक्षण तथा नेसनल पार्कमा भएको बताइएको छ।
सुटिङका केही फोटा सार्वजनिक भएका छन्। फोटोमा अक्षय, बियर र कार्यक्रम टोली वन अधिकृतहरूसँग देखिन्छन्। उनीहरूले पाँच ठाउँमा सुटिङ गर्ने भनिए पनि दुई ठाउँ मात्र गरेर हिँडेको बताइएको छ। उनीहरूले जम्मा तीन घन्टा सुटिङ गरेका छन्।
यसअघि रजनीकान्तले पनि यही पार्कमा सुटिङ गर्दा वातावरण अभियन्ताहरूले आलोचना गरेका थिए। जंगलमा क्यामरा र सुटिङले गर्दा जनावरमा खतरा पर्न सक्ने भन्दै अभियन्ताहरूले रजनीकान्तको आलोचना गरेका थिए।
बियर ग्रिल्सको यो कार्यक्रममा अब अभिनेत्री दीपिका पादुकोण र क्रिकेटर विराट कोहली पनि जान सक्ने सम्भावना छ। उनीहरूका साथमा अरू सेलेब्रेटी पनि हुने अनुमान छ।