भारतको आयकर विभागले तमिल सिनेमाका एक प्रमुख लगानीकर्ताकोमा छापा मारेर श्रोत नखुलेको ७७ करोड भारू जफत गरेको छ।
विभागले एक विज्ञप्ति जारी गर्दै सोको पूर्ण जानकारी दिएको छ। विभागले फरवरी ५ मा ती लगानीकर्ताकोमा छापा मारेको थियो।
त्यहाँको आयकर विभागले तमिल सिनेमा उद्योगका चार प्रमुख खेलाडीकोमा छापा मारेको हो। आयकर विभागले एक निर्माता, एक ठूला अभिनेता, वितरक तथा लगानीकर्ताकोमा छापा मारेको छ।
यी चारै व्यक्ति हालै ३०० करोड भारू बढी कमाइ गरेको 'बिगिल' सिनेमासँग जोडिएका छन्। यस प्रकरणमा आयकर विभागले यी चार व्यक्तिसँग सम्बन्धित चेन्नई र मदुरईका ३८ स्थानमा मारेको थियो।
विभागले यिनै स्थानबाट ७७ करोड भारू नगद बरामद गरेको हो। बरामद ७७ करोड भारुको कुनै हिसाबकिताब नभएको बताइन्छ।
छापाका क्रममा विभागले नगदसँगै अन्य सम्पतीसम्बन्धी कागजात तथा हस्ताक्षर गरिएका चेकहरुसमेत बरामद गरेको छ।
सिनेमा वितरक भवन निर्माणकर्ता तथा मल्टिप्लेक्स व्यापारमा समेत संलग्न भएकाले विभागले जफत गरेको कागजपत्रहरुले थप अवैध सम्पतिको जानकारी दिने अनुमान गरिएको छ।
विभागले जारी गरेको विज्ञप्तिमा कसैको नाम सार्वजनिक नगरिए पनि एजीएस सिनेमाजले कर छली गरेको हुनसक्ने भन्दै 'बिगिल' अभिनेता विजयसँग आयकर विभागले सोधपुछ गरिरहेको बताइएको छ।
विजयको पछिल्लो रिलिज 'बिजिल' एजीएस सिनेमाजले नै गरेको थियो र सिनेमा वक्सअफिसमा सर्वाधिक सफल भएको छ।