७० वर्षिय तमिल अभिनेता रजनीकान्तको स्टारडम अझै पनि उस्तै छ। सिनेमामा उनी हुनु सिनेमाको लगानीको एककिसिमले ग्यारेन्टी हो।
तर पछिल्लो पटक रिलिज भएको उनी अभिनित 'दरबार'ले विश्वव्यापी रुपमा २५० करोड भारू कमाइ गरेपनि त्यसले वितरकहरुको लगानीको ग्यारेन्टी गर्न सकेनन्।
सिनेमाका वितरकहरु घाटामा गएपछि रजनीकान्त पनि सिनेमाको विवादमा मिसिएका छन्। वितरकहरुले आफ्नो घाटाको क्षतिपूर्ति माग गरेका छन्।
उनीहरुले सिनेमाका निर्माता तथा निर्देशक ए आर मुर्गादोशसँग आफ्नो रकम फिर्ता मागेका छन्। उनीहरुले रजनीकान्त, सो सिनेमा बनाउने लायका प्रोडक्सन तथा एआर मुर्गादोशसँग मुआब्जा मागेका हुन्।
केही दिन अगाडि यस सिनेमाका केही वितरकहरू रजनीकान्तलाई भेट्न उनको घर पुगेका थिए तर सुरक्षाकर्मीले उनीहरूलाई गेटबाटै फर्काइदिएको थिए।
रजनीकान्तलाई भेट्न नपाएपछि वितरकहरू निराश बनेका थिए। उनीहरु यस मामिलामा रजनीकान्तले भेट्नसमेत नखोज्नु एकदमै निराशाजनक भएको भन्दै आफूहरुले भोक हडताल गर्ने निर्णय गरेको बताइसकेका छन्।
यसैगरी सिनेमाका निर्देशक मुर्गादोशले पछिल्लो केही समयदेखि आफूलाई धम्की आइरहेको भन्दै प्रहरी सुरक्षाको माग गरेका छन्।
इन्डिया टुडेमा प्रकाशित समाचारका अनुसार मुर्गादोशले मद्राह हाइकोर्टमा एक जाहेरी दिएका छन् जसमा उनले प्रहरी सुरक्षा माग गरेका छन्।