पछिल्लो समय बलिउडमा डेब्यू गरेका स्टार सन्तानमा सर्वाधिक चर्चा सैफ अलि खान तथा अमृता सिंहकी छोरी सारा अलि खानको छ।
'केदारनाथ'बाट बलिउडमा धमाकेदार डेब्यू गरेकी सारा अभिनित दोश्रो सिनेमा 'सिम्बा'ले पनि वक्सअफिसमा धमाकेदार व्यापार गर्यो। त्यसयता सारा ठूला ब्यानरका सिनेमामा धमाधम अनुबन्धित भइरहेकी छन्।
यसैक्रममा उनी आफ्नै आमाको सुपरहिट सिनेमाको रिमेकमा काम गर्ने चर्चा चलेको छ। उनलाई आफ्नी आमा अमृता अभिनित 'चमेलीकी शादी'नामक सिनेमा प्रस्ताव गरिएको छ।
बलिउडको सुपरहिट कमेडीमा पर्ने यस सिनेमामा अनिल कपुर र अमृता सिंहको मुख्य भूमिका थियो। रिलिजपछि दर्शकहरुले अमृताले सिनेमामा निर्वाह गरेको चलुबुले चरित्रलाई खुबै मनपराएका थिए।
यो सिनेमाको एकतर्फ छिट्टै सुटिङ हुने चर्चा छ भने अर्को तरफ सिनेमालाई लिएर सारा दुविधामा रहेको समेत बताइन्छ। सारालाई आफूले सो भुमिका गर्न सक्छु कि सक्दिन भन्ने दुविधा रहेको छ। उनलाई सो भुमिकामा आफूले न्याय गर्न नसक्ने होकी भन्ने आशंका छ।
यसले गर्दा साराले यो सिनेमा गर्ने नगर्ने टुङ्गो लगाउन केही समय अझ लाग्ने अनुमान गरिएको छ। सारा हाल आफ्ना बाबु सैफले अभिनय गरेको 'लभ आज कल'को सिक्वलको प्रचारमा व्यस्त छिन्। यस सिक्वलमा उनको जोडी उनको क्रस अर्थात कार्तिक आर्यनसँग बाँधिएको छ। सिनेमालाई इम्तियाज अलिले निर्देशन गरेका हुन्।
यसका साथै सारा वरूण धवनसँग 'कुली नम्बर १'को रिमेकमा देखिने पक्का भइसकेको छ भने उनी अक्षय कुमार तथा धनुषको साथमा आनन्द एलरायको सिनेमा 'अतरंगी'मा समेत काम गर्दैछिन्।