सोमबार बलिउड अभिनेता अक्षय कुमार स्टारर 'सूर्यवंशी'को ट्रेलर रिलिज भएको छ।
ट्रेलरमा अक्षयकुमार आतंकवादीबाट मुम्बईलाई बचाउने अभियानमा छन्। झण्डै चार मिनेट १५ सेकेण्ड लामो ट्रेलरले सिनेमा एक्सनमय भएको देखाएको छ।
ट्रेलरमा 'सिघंम' बनेका अजय देवगन र 'सिम्बा' बनेका रणवीर सिंह पनि फिचर भएका छन्।
समग्रमा सिनेमाको ट्रेलरमा खासै नयाँ केही छैन। मुम्बई, आतंकवाद, मुम्बई पुलिस, भारतीय मुसलमानको भारतीय परिभाषालाई ट्रेलरमा प्रमुखता दिइएको छ।
त्यसैगरी सार्वजनिक ट्रेलरले सिनेमाको कथा नेपालसँग पनि जोडिएको संकेत गरेको छ।
ट्रेलरको सुरुवात र अन्त्यमा नेपाल प्रहरीको वाकीट्वाकी भाषाको प्रयोग गरेको छ। ट्रेलरको सुरू र अन्त्यमा नेपाली संवाद सुनिन्छ।
ट्रेलरको ४ मिनेट पाँच सेकेण्डमा 'हाम्रो पेट्रोलिङ भ्यान इन भयो ‘रोजर’ लेकसाइड नर्मल छ है' भन्ने नेपाली संवाद सुन्न सकिन्छ।
ट्रेलरमा राखिएको यो संवादले कतै यो सिनेमाले यसअघिका भारतीय सिनेमाले जस्तै 'नेपाल आतंकवादीहरूको सुरक्षित आश्रयस्थल त हो' भनेर चित्रित त गरेको छैन? भनेर शंका गर्ने आधार खडा गरेको छ।
यसअघि नेपालमै छायाँकन गरिएका अक्षयकुमार अभिनित 'बेबी' र अर्जुन कपुर अभिनित 'ईन्डियाज मोस्ट वान्टेड'ले नेपाल आतंकवादीको आश्रयस्थलका रुपमा पेस गरेको थियो।
दुबै सिनेमामा आतंकवादीलाई नेपालबाट समातेर लगिएको देखाइएको थियो।
पटकपटक बलिउड सिनेमाले गर्ने नेपालको यस्तो चित्रणले नकारात्मक संदेश जाने सरोकारवालाहरूले बताउँदै आएका छन्।
जसका कारण विवाद हुने डरले नेपालमा हिन्दी सिनेमाको वितरण गर्दै आएका नेपाली कम्पनीले 'इण्डियाज मोस्ट वान्टेड' सिनेमा नेपाल ल्याएका थिएनन्।
सिनेमामा यासिन भट्कललाई नेपाल भित्रबाट भारत लगिएको देखाइएको थियो। सो सिनेमाको अधिकांश सुटिङ काठमाडौं र पोखरामा भएको थियो।
'सूर्यवंशी'मा भने नेपाललाई बढो चलाखीपूर्ण ढंगले प्रयोग गरिएको छ। यसमा उनीहरूले नेपाल प्रहरीको आवाजमात्र राखेका छन्।
यस कारणले गर्दा सिनेमामा नेपाललाई कसरी प्रस्तुत गरिएको छ भन्ने कुरा नेपाली सेन्सरमा 'सूर्यवंशी' आएपछि मात्र थाहा हुनेछ।
रोहित शेट्टी निर्देशित सिनेमा मार्च २४ अर्थात चैत ११ गते रिलिज हुँदैछ।