टेलिभजन प्रस्तोता, गायक तथा अभिनेता आदित्य नारायणले ६ महिना टेलिभिजनको कामबाट छुट्टी लिने भएका छन्।
आफ्नो संगीत करियरलाई ध्यान दिन यो निर्णय लिएको उनले बताएका छन्।
आदित्यले हालै 'इण्डियन आइडल ११'मा प्रस्तोताका रुपमा काम गरेका थिए।
इन्स्टाग्राममा आफूले काम गरेका ११ वटा टेलिभिजन कार्यक्रमहरूको सूचि राख्दै ती कार्यक्रमहरूमा काम गर्दा अत्यन्तै राम्रो अनुभव पाएको लेखेका छन्।
'संगीत गर्नु सधैं मेरो जीवनको लक्ष्य रहँदै आएको छ। टेलिभिजनको व्यस्तताले गर्दा मैले संगीतका लागि गर्नुपर्ने र दिनुपर्ने जति समय दिन पाएको छैन। त्यसैले मैले आफ्नो डेब्यू एल्बम र म्यूजिक भिडिओमा काम गर्नका लागि ६ महिनाको विश्राम लिदैंछु', उनले इन्स्टाग्राममा लेखेका छन्।
उनले यो सँगै इन्स्टाग्राममा आफूले आगामी दिनमा काम गउर्ने कामहरूको सूचिका बारेमा पनि जानकारी दिएका छन्।
उनले इन्स्टा पोस्टमा आफ्नो ब्याण्डसँग डेब्यू एल्बम गर्नुका साथै आफ्नो सोलो एल्बम निकाल्ने, सिनेमामा पार्श्व गायन गर्ने, तीन वटा टेलिभिजन कार्यक्रम, लाइभ कन्सर्ट र आफ्नो पहिलो यूट्यूब सो जस्ता कार्यक्रम गर्न लागेको जानकारी दिएका छन्।