हाल प्रदर्शनरत बलिउड सिनेमा ‘बागी ३’का निर्देशक अहमद खानले अभिनेत्री कंगना रनोटसँग माफी मागेका छन्।
उनले कंगनाले निर्माण गरेको ‘मणिकर्णीकाः द क्वीन अफ झाँसी’ फ्लप भएको र उनको आगामी सिनेमा ‘धाकड’ बन्द भएको भनेको अन्तरवार्तामा प्रकाशित भएपछि उनले माफी माग्नुपरेको हो।
अहमदले माफी मागेको कुरा कंगनाकी बहिनी रंगोली चन्देलले आफ्नो ट्वीटरमार्फत् सार्वजनिक गरेकी हुन्।
अहमदको भनाइका बारेमा लगालग ट्वीटहरू गरेकी रंगोलीले ‘मणिकर्णीका’ सिनेमाको लगानी र कमाइ समेत सार्वजनिक गरेकी छन्।
‘बाघी ३’ निर्देशक अहमद खानले महिलाप्रधान सिनेमामाथि टिप्पणी गर्ने क्रममा कंगना निर्मित, निर्देशित तथा अभिनित ‘मणिकर्णीका’को उदाहरण दिएका थिए।
नवभारत टाइम्सलाई दिएको अन्तरवार्तामा खानले ‘मणिकर्णिका’लाई हिट गराउन कंगनाले भरसक कोशिस गरेको भए पनि सिनेमाबाट निर्माताहरूले ठूलो घाटा बेहोर्नुपरेको बताएका थिए।
उनको यसै भनाइमाथि प्रतिक्रिया जनाउँदै रंगोलीले अहमदको आलोचना गर्दै सिनेमाको व्यापारिक र लगानीको आँकडाबारेमा स्पष्ट पारेकी छन्।
रंगोलीले आफ्नो ट्वीटमा अहमदले आफ्नी दिदी कंगनासँग फोनमा कुरा गर्दै माफी मागेको बताएकी हुन्।
अन्तरवार्तामा यो सिनेमा असफल भएकै कारण ‘धाकड’को निर्माण प्रक्रियासमेत बन्द भएको खानले दाबी गरेका थिए।
रंगोलीले खानको सो भनाइमा सिनेमाले पहिलो सातामा ४५ करोड भारू कमाएको र खान निर्देशित सिनेमाले ४९ करोडको व्यापार गरेका आँकडा प्रस्तुत गर्दै कुल १५५ करोड भारू कमाइ गरेको ‘मणिकर्णिका’ कसरी फ्लप भयो भनेर अहमदलाई प्रश्न गरेकी छन्।
उनले आफ्नो ट्वीटमा ७५ करोड भारूमा बनेको सिनेमाले भारतमा मात्रै १०२ करोड भारु कमाइ गरेको बताएकी छन्।
आफ्नो अन्तरवार्तामा विवाद भएपछि अहमदले नवभारत टाइम्सलाई दिएको अर्को अन्तरवार्तामा कंगनाको प्रशंसा गरेका छन्।
सो अन्तरवार्तामा उनले कंगना ‘महिला बाघी’ र ‘बलिउडको हिरो’ भएको बताउँदै आफू कंगनासँग काम गर्न इच्छुक रहेको बताएका छन्।