भारतले पछिल्लो समय कोरोना भाइरसलाई ध्यानमा राख्दै त्यसको जोखिम न्यूनिकरण र रोकथामका लागि देशका विभिन्न भागमा सिनेमा घरहरूको सेवा बन्द गरिएको छ।
त्यसको असर प्रदर्शनरतः सिनेमामा पर्न थालेको छ, जसको मारमा टाइगर श्राफ स्टारर 'बागी ३' परेको छ।
रिलिजको १० औं दिन आइपुग्दा टाइगर श्राफको अभिनित 'बागी ३'को कुल कमाइ ९३ करोड भारू पुगेको छ।
यसको अर्थ अब टाइगरको सिनेमा सय करोडबाट मात्र ७ करोड टाढा रहेको छ।
सामान्य अवस्थामा भएको भए सिनेमाले यो लक्ष्य केही दिनमै पूरा गर्ने थियो तर कोरोनाभाइरसका कारण उसका लागि यो सजिलो नहुने देखिएको छ।
वक्सअफिस इण्डिया डटकमका अनुसार पछिल्ला दिनामा सिनेमाको कमाइ घट्दै गएको छ।
रिलिजको दशौं दिनमा 'बागी ३'ले करिब २ करोड भारू मात्र कमाउन सकेको उसले जनाएको छ, जबकी रिलिजको दिन १७.५० करोड भारू कमाइ गरेको सिनेमाले सुरुवाती सप्ताहन्तमा नै ५० करोड बढीको कमाइ गरेको थियो।
रिलिजको पहिलो तीन दिनमै ५४.३ करोड भारू कमाएको थियो जसका कारण यो सिनेमालाई सय करोड क्लबको सिनेमा मानिएको थियो।
भारतमा हालसम्म १०७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।