भारतकी गायिका कनिका कपुरमा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ।
विशेषगरी ‘बेबी डल’ र ‘चिटियाँ कलैयाँ रे’ गीतबाट चिनिने गायिका कपुरलाई शुक्रबार कोरोनाभाइरसको संक्रमण देखिएको इण्डिया टुडेले जनाएको छ।
उनलाई लखनउस्थित किङ जोर्जस् मेडिकल युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको छ।
लन्डनमा रहेकी ४१ वर्षीया कपुर मार्च १५ तारिखका दिन भारत आएकी थिइन्। इण्डिया टुडेका अनुसार उनले भारत फर्केर आफ्ना परिवार तथा साथीभाइलाई पाँच तारे होटलमा पार्टी दिएकी थिइन्।
त्यस पार्टीमा सरकारी कर्मचारी, राजनीतिज्ञलगायत पनि सहभागी भएको जनाइएको छ।
कनिकाका बुवा राजीव कपुरले आजतकसँग कुराकानी गर्दै कनिका भारत फर्केर तीन पार्टीहरूमा सहभागी भएको बताएका थिए।
कनिकालाई कोरोना देखिएसँगै उनका परिवारका छ सदस्यले पनि कोरोना संक्रमणको परीक्षण गराउन लागेका छन्।