लामो समय बन्द भएको कोरोना भाइरसको उद्गम देश चीन विस्तारै चलमलाउन थालेको छ।
लकडाउनले त्यहाँका मात्र हैन, संसारभरकै सिनेमा हलहरू बन्द भएका छन्।
तर चीनमा स्थिति सामान्य हुँदै जाने क्रम बढेको छ। चीनको अवस्था सामान्य भएसँगै सिनेमा हलहरू खुल्नेछन्। यही क्रममा चीनमा बलिउड फिल्म पनि रिलिज हुनेछ।
कोरोना त्रासपछि खुलेका हलमा सबभन्दा पहिले लाग्ने बलिउड फिल्म ऋतिक रोशनको 'सुपर ३०' हुने हिन्दुस्तान टाइम्सले लेखेको छ।
रिलायन्स इन्टरटेन्मेन्ट ग्रुपका सिइओ शिवाशिष सरकारले यो खबर पुष्टि गरेका हुन्।
'सुपर-३० चीनमा सेन्सरसीपका लागि पठाइएको थियो,' सरकारले भनेका छन्, 'जब चीनको अवस्था सामान्य भएर सिनेमा हल खुल्नेछन्, यसले सेन्सरसीप अनुमति पाउनेछ र देशभर रिलिज हुनेछ।'
'सुपर-३०' ऋतिक रोशनद्वारा अभिनित पहिलो 'बायोपिक' हो। यो गणितविज्ञ आनन्द कुमारको जीवनमा आधारित छ। फिल्मले भारतमा एक सय करोड भारूको व्यापार गरेको थियो।