(यो अबिच्युरी हामीले भारतीय अनलाइन 'स्क्रोल डटइन' बाट अनुवाद गरेका हौं।)
इरफान खानको निधन यस्तो बेला भयो, जब उनी आफ्नो करिअरको उत्कर्षमा पुगिसकेका थिएनन्, तर जिन्दगीले अल्पायुमै साथ नछाडेको भए उनी त्यो मुकामसम्म पुग्न सक्थे।
भारतको मुम्बईमा बुधबार बिहान बितेका यी ५३ वर्षीय अभिनेताले नब्बे दशकमै केही फिल्म खेलेका थिए। त्यसअघि लामो समय दुरदर्शनका टेलिभिजन शृंखलाहरूमा सानोतिनो भूमिका गरे। तर, बलिउडमा उनको साख जम्यो, सन् २००० को प्रारम्भबाट।
त्यसयता उनले खेलेका फिल्म 'हासिल', 'मकबूल', 'तलवार', 'पानसिंह तोमर', 'द लन्चबक्स', 'पिकू', 'हिन्दी मिडियम' लगायतलाई दर्शक र समीक्षक दुवैले उत्तिकै मन पराए। हलिउडमा भारतको प्रतिनिधित्व गर्ने अब्बल अभिनेता पनि इरफान नै हुन्।
दुई वर्षअघि क्यान्सरले थला नपारेको भए हिन्दी सिनेमामा उनको उम्दा करिअर स्थापित हुने थियो।
इरफानलाई २०१८ मार्चमा न्यूरो–एन्डोक्राइन ट्यूमर भएको थियो। लामो समय बेलायतमा उपचार गराएर केही महिनाअघि मात्र भारत फर्केका थिए। गत साता ठूलो आन्द्रामा संक्रमण भएपछि मुम्बईको कोकिला वेन धिरुभाइ अम्बानी अस्पताल भर्ना भएका हुन्।
उनका पत्नी र दुई छोरा छन्। उनकी ८६ वर्षीया आमा शाहिदा बेगमको चार दिनअघि जयपुरमा निधन भएको थियो।
भारतीय सिनेमामा इरफानको सम्झना सुपरहिट फिल्म वा ठूल्ठूला भूमिकाका लागि गरिने छैन। उनलाई यस्तो अभिनेताका रूपमा याद गरिनेछ, जो सानो भूमिका समातेर पर्दामा आए, र ठूल्ठूला भूमिकावालाहरूलाई मात खुवाए।
उनको परिचयसँग उनले खेलेको पात्रको लम्बाइ कहिल्यै जोडिएन। भूमिका जतिसुकै छोटो होस्, उनी आफ्नो अभिनयबाट पात्रको वजन बढाइदिन्थे। कुनै–कुनै फिल्म त उनकै कारणले पनि चर्चामा आयो, भलै त्यसमा उनको भूमिका सह–अभिनेताकै किन नहोस्।
उनको अन्तिम फिल्म 'अंग्रेजी मिडियम' हो, जुन भारतमा लकडाउन सुरू हुनु केही दिनअघि मात्र रिलिज भएको थियो। यो फिल्मलाई इरफानकै २०१७ मा रिलिज सुपरहिट 'हिन्दी मिडियम' को सिक्वेल मानिन्छ।
बाबु–छोरीको सम्बन्धमा आधारित 'अंग्रेजी मिडियम' इरफानका अन्य फिल्मको दाँजोमा फितलो भए पनि उनको अभिनय उम्दा छ।
इरफानको जन्म सन् १९६७ जनवरी ७ मा राजस्थानको टोंकमा भएको थियो। उनको खास नाम शाहेबजादे इरफान अली खान हो। मध्यमवर्गीय परिवारमा जन्मेका इरफान सुरूदेखि फिल्ममा अभिनय गर्न चाहन्थे। तर, उनलाई आफ्नो अनुहार फिल्ममा देखाउन लायक छ भन्ने विश्वास थिएन।
उनले अनुपम खेरद्वारा सञ्चालित टेलिभिजन कार्यक्रम 'कुछ भी हो सक्ता है' मा भनेका छन्, 'फिल्ममा काम गर्न चिप्लोचाप्लो अनुहार चाहिन्छ भन्ने मलाई लाग्थ्यो। मजस्तो मान्छेलाई पर्दामा हेर्न कोही आउला भन्ने विश्वासै थिएन। तर, जब मैले मिर्णाल सेनको 'मिर्गया' (१९७७) मा मिथुन चक्रवर्तीलाई देखेँ, मेरो हौसला बढ्यो। मिथुनजस्तो कालो वर्णको दुब्लो–पातलो मान्छे त अभिनेता बन्न सक्छ भने म किन सक्दिनँ?'
यसैबाट हौसिएर इरफानले राजस्थान विश्वविद्यालयमा दुई वर्ष ड्रामाटिक आर्टस् पढे। उक्त कोर्स सकिएपछि १९८४ मा भारतको दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामामा भर्ना भए। त्यति बेलाका समकक्षीहरू इरफानलाई लजालु र शान्त स्वभावको व्यक्तिका रूपमा सम्झन्छन्, जसको अन्तर्यमा अभिनयको नशा भरिएको थियो।
यो पनि पढ्नुस्ः भुइँ छाड्न हुँदैन भन्दै खाली खुट्टा हिँड्न रुचाउँथे इरफानः सुनील पोखरेल
समकक्षीहरूका अनुसार, उनी प्रायः आफ्नै धूनमा हराइरहेका हुन्थे। जिन्दगीका हरेक चुनौती खुला आँखाले सामना गर्थे। तिनै समकक्षीमध्ये उनकी पत्नी सुतापा सिकदर पनि हुन्, जो अहिले टेलिभिजन कार्यक्रम लेखक र निर्माता छन्।
'मेरो विचारमा कक्षामा इरफानको खासै कसैसँग मिल्ती थिएन, सुतापाबाहेक,' नेसनल स्कुल अफ ड्रामाका अध्यापक रामगोपाल बजाजले इरफानका जीवनी–लेखक असीम छाब्रासँग भनेका छन्, 'उनी प्रायः एक्लै बसिरहेका हुन्थे। यही व्यवहारले उनी मेरो नजरमा परेका हुन्। उनीभित्र एउटा बेग्लै खालको भद्रपन र एकाग्रता मैले देखेको थिएँ, जुन पछिसम्मै कायम रह्यो।'
नेसनल स्कुल अफ ड्रामामा पढ्दादेखि नै उनमा एउटै महत्वाकांक्षा थियो- उनी मुम्बई जान चाहन्थे र बलिउड फिल्म खेल्न चाहन्थे।
उनले त्यति बेला केही हिन्दी फिल्ममा सानोतिनो भूमिका गरे। उनको पहिलो फिल्म थियो, सन् १९८८ मा रिलिज मीरा नायरको 'सलाम बम्बे', जसमा उनको एउटा मात्र दृश्य थियो। यसमा उनले चिठी लेख्ने व्यक्तिको भूमिका गरेका छन्। यो फिल्मले आफ्नो समयमा खुब चर्चा पायो। भारतबाट विदेशी भाषातर्फ ओस्कार अवार्डमा मनोनीत पनि भयो, तर इरफानलाई कसैले सम्झेनन्।
मुम्बईको भीडभाड, झोपडपट्टी र गरिबीमाथि बनेको यो सिनेमामा इरफानको उपस्थिति भीडमै हरायो।
दर्शकको नजरमा नपरे पनि उनी निर्देशक मीरा नायरको आँखामा जमिसकेका थिए। सन् २००६ मा जब मीराले न्यूयोर्कमा बस्ने भारतीय व्यक्तिको जीवनमाथि 'नेमसेक' बनाइन्, प्रमुख भूमिकाका लागि इरफान छनौटमा परे।
फिल्ममा सानोतिनो भूमिका गर्दा इरफानले मुम्बईमा आफ्नो जिन्दगी चलाउन सानो पर्दाको सहारा लिए। उनले त्यति बेला थुप्रै टेलिभिजन शृंखलाहरूमा काम गरेका थिए। तिनमा श्याम बेनेगलको 'भारत एक खोज' (१९८८–८९) र गोविन्द निहलानीको 'जजीरा' (१९९१) र 'पिता' (१९९१) प्रमुख छन्।
यसबाहेक 'चाणक्य' (१९९२), 'चन्द्रकान्ता' (१९९४) र 'बनेगी अपनी बात' (१९९५) मा पनि उनले यादगार भूमिका गरेका छन्।
त्यो समय दुरदर्शनमा 'चन्द्रकान्ता' हेरेर हुर्केका पुस्ता आज पनि उनलाई 'बद्रीनाथ–सोमनाथ' का रूपमा सम्झन्छन्। इरफानले यो टेलिशृंखलामा जुम्ल्याहा दाजुभाइको दोहोरो भूमिका गरेका थिए।
भारतीय फिल्म उद्योगमा नब्बे दशक भनेको कलात्मक सिनेमाको युग हो। नसिरुद्दीन शाह, ओम पुरी, नाना पाटेकर, शबाना आजमी, स्मिता पाटिल, दिप्ती नवल लगायत अभिनेता–अभिनेत्रीले त्यो बेला कलात्मक सिनेमाको प्रतिनिधित्व गर्थे। व्यावसायिक रूपले खासै नचल्ने यस्ता सिनेमालाई राज्यले नै प्रवर्द्धन गरेका हुन्थे। बलिउडमा इरफानको प्रवेश यस्तै कलात्मक फिल्मबाट भयो।
सुरूआती दिनमा उनले खासै ठूलो भूमिका पाएनन्। 'सलाम बम्बे' मा जस्तै त्यसपछिका थुप्रै फिल्ममा उनको उपस्थिति एकाध दृश्य र संवादमै सीमित रह्यो। ती फिल्महरू जतिसुकै चर्चित भए पनि इरफानलाई विरलै याद गरिन्छ।
जस्तो– उनी वासु चटर्जीको 'कमलाकी मौत' (१९८९) मा एक अविश्वासिलो प्रेमीको भूमिकामा छन्। फिल्मको एक दृश्यमा उनी आफ्नी प्रेमिका (गीता) लाई ठूल्ठूला आँखाले यस्तरी हेर्छन्, त्यही हेराइ पछि गएर इरफानको 'ब्रान्ड' का रूपमा स्थापित भयो।
गोविन्द निहलानीको 'दृष्टि' (१९९०) मा उनले डिम्पल कपाडियाको शंकालु प्रेमीको भूमिका गरेका छन्, जसमा उनका ठूल्ठूला आँखाबाट सधैं आगो बर्सिरहन्छ। उनको आँखाको त्यही आगोले कालान्तरमा अभिनयको नयाँ आयाम स्थापित गर्यो।
उनी बाल फिल्महरू 'करामती कोट' (१९९३) र 'द गोल' (१९९९) तथा अफबिट ड्रामा 'बडा दिन' (१९९८) मा पनि सानो भूमिकामा देखिएका छन्।
ती सुरूआती दिनमा इरफानलाई आफ्नो खुबी देखाउने ठूलो मञ्च दिएको थियो, तपन सिन्हाको 'एक डाक्टरकी मौत' (१९९०) ले। कुष्ठरोगविरुद्ध खोप पत्ता लगाएका वैज्ञानिकको संघर्षको कथामा बनेको यो फिल्ममा पंकज कपुरले वैज्ञानिकको भूमिका गरेका छन् भने विज्ञान समाचार लेख्ने पत्रकारको भूमिकामा छन्, इरफान।
यो फिल्ममा पनि उनको भूमिका खासै लामो त होइन, तर वजनदार थियो। वजनदार भूमिकालाई उनको वजनदार अभिनयले थप ओजिलो बनाइदियो।
बलिउडमा आफ्नो करिअर जमाउन लामो संघर्ष गर्दा पनि सफलता हात नपरेपछि इरफानले आफ्नो नाउँको अक्षर फेरे। उनको नाउँमा पहिले एउटा मात्र 'आर' थियो, सन् २००३ पछि उनले दुइटा 'आर' लेख्न थाले।
संयोगले २००० दशकको प्रारम्भदेखि नै इरफानको करिअरले नयाँ मोड लियो — उनले पहिलेभन्दा लामो र दमदार भूमिका पाउन थाले।
करिअरको यो विन्दुसम्म आइपुग्दा इरफानले नयाँ रणनीति लिए। उनले आफ्नो अभिनय र आम्दानी दुवै सँगसँगै अघि बढाए। उम्दा अभिनय गरेर समीक्षकको आँखामा पर्न कलात्मक फिल्महरू खेले, सँगसँगै मायानगरी 'मुम्बई' मा सहज जीवनयापन र दर्शकको मनमा बस्न 'मसालेदार' व्यावसायिक फिल्म पनि खेले।
यही दशकमा रिलिज आसिफ कपाडियाको 'द वारियर' (२००१) मा इरफानको भूमिकालाई दर्शक र समीक्षक दुवैले सराहना गरे। अरू थुप्रै फिल्ममा इरफान भ्रष्ट वकिलदेखि आतंकवादी, गुन्डादेखि प्रहरी अधिकृतसम्मको भूमिकामा देखिए।
बलिउडमा 'विशेष फिल्म्स' नामक निर्माण कम्पनीलाई सबैले सम्मान गर्छन्। महेश भट्ट र मुकेश भट्ट दाजुभाइको यो फिल्म प्रोडक्सन अहिले पूजा भट्टले सम्हालेकी छन्। यो कम्पनीले धेरै फिल्ममा इरफानलाई सानो–ठूलो भूमिका दियो। महेश भट्टको 'गुनाह' (२००२) मा इरफानको संवाद 'गेट नेकेड बेबी!' एकदमै चर्चित थियो।
सन् २००४ मा तिग्माङ्सु धुलियाले 'चरस' फिल्ममा इरफानलाई खेलाए। नेसनल स्कुल अफ ड्रामामा सँगसँगै पढेका तिग्माङ्सुको यो फिल्ममा इरफान यस्ता प्रहरी अधिकृतको भूमिकामा छन्, जो पछि लागुऔषधका डिलर बन्छन्।
यसअघि २००३ मा बनेको तिग्माङ्सुकै 'हासिल' मा इरफान खलनायकको भूमिकामा थिए। उक्त फिल्ममा नायक बनेका जिमी शेरगिलको दाँजोमा खलनायक इरफानको अभिनयको सर्वत्र वाहवाही भयो।
तिग्माङ्सु र इरफानको जोडीले आफ्नो करिअरकै उम्दा फिल्म दिए सन् २०१२ मा– पानसिंह तोमर।
डाँकु बनेका पूर्व भारतीय सैनिक तथा धावक पानसिंह तोमरको जीवनगाथामा आधारित यो सिनेमालाई बलिउडकै एक अब्बल खेलकुद सिनेमाको कोटीमा राखिन्छ। यो फिल्मबाट इरफानले राष्ट्रिय पुरस्कार पाए।
इरफानको करिअरमा अर्को यादगार भूमिका रह्यो २००३ मा रिलिज, विशाल भारद्वाजको 'मकबूल'। शेक्सपियरको 'म्याकबेथ' बाट प्रेरित यो फिल्ममा इरफानले आफ्नै बोस पंकज कपुरकी श्रीमती तब्बूका प्रेमीको भूमिका गरेका छन्।
'विशाल (भारद्वाज) 'मकबूल' को मुख्य भूमिकाका लागि कलाकारको खोजीमा थिए। त्यही बेला 'हासिल' रिलिज भयो। 'हासिल' मा इरफानको अभिनय देखेपछि विशालले उनलाई लिने निधो गरे,' असीम छाब्राले उनको जीवनीमा लेखेका छन्।
'मकबूल' फिल्मको विशेषता के भने, त्यसमा नेसनल स्कुल अफ ड्रामामा पढेका पाँच जना कलाकार एकैचोटि पर्दामा देखिएका थिए। ती हुन्– नसिरुद्दीन शाह, ओम पुरी, पंकज कपुर, पियूष मिश्रा र इरफान।
सुरूआतको एक दृश्यमा यी पाँचै जना पात्र सँगसँगै देखिन्छन्। यीमध्ये सबभन्दा जुनियर इरफान नै थिए।
भारतका चार–चार जना वरिष्ठ र दिग्गज अभिनेतासँग एउटै दृश्य 'सेयर' गर्दा पनि इरफानको आँखा र आत्मविश्वास कत्ति डगमगाएको थिएन। उक्त सिनेमाका सबै दृश्यमा इरफानको अभिनय खारिएको छ।
यो इरफानको तर्फबाट उद्घोष पनि थियो– पढाइमा जुनियर भए पनि क्षमतामा म कोहीभन्दा कम छैन।
धेरै समीक्षकहरू २००७ लाई इरफानको उत्कृष्ट वर्षका रूपमा लिन्छन्, जब अनुराग बासुको 'लाइफ ... इन अ मेट्रो' रिलिज भयो। बक्स–अफिसमा सुपरहिट उक्त फिल्ममा इरफानको अभिनय धेरैले मन पराए। यसै वर्षबाट उनको हलिउड यात्रा पनि सुरू भयो।
उनले लगातार तीनवटा हलिउड फिल्म– 'द वारिअर', 'द दार्जिलिङ लिमिटेड' र 'अ माइटी हार्ट' मा काम गरे।
पाकिस्तानमा धार्मिक कट्टरपन्थीहरूद्वारा मारिएका वाल स्ट्रिट जर्नलका पत्रकार डेनिअल पर्लमाथि बनेको 'अ माइटी हार्ट' मा इरफानले स्थानीय अनुसन्धान अधिकृतको भूमिका गरेका थिए। उक्त फिल्मले इरफानलाई अन्तर्राष्ट्रिय प्रसिद्धि दिलायो।
यसबीच झुम्पा लहरीको उपन्यासमा आधारित मीरा नायरको 'नेमसेक' बाट पनि इरफानले हलिउडमा आफ्नो अभिनयको चर्चा फैलाइसकेका थिए। उक्त फिल्ममा न्यूयोर्कमा बस्ने बंगाली प्राध्यापक अशोक गांगुलीको भूमिका इरफानको निम्ति करिअरकै महत्वपूर्ण 'टर्निङ प्वाइन्ट' बन्यो।
'नेमसेक' मा इरफानको भूमिका देखेर अभिनेत्री शर्मिला टैगोरले उनलाई भनेकी थिइन्, 'तिमीजस्तो अब्बल अभिनेता जन्माउने आमाबाबुलाई धेरै धेरै धन्यवाद।'
शर्मिलाको यो प्रशंसामा प्रतिक्रिया दिँदै इरफानले एक अन्तर्वार्तामा भनेका थिए, 'यो मेरो जीवनकै सबभन्दा मिठो र ठूलो प्रशंसा हो।'
'नेमसेक' मा उनकी पत्नी बनेकी थिइन् तब्बू। यसअघि 'मकबूल' मा जोडीका रूपमा देखिएका इरफान र तब्बूले तेस्रोचोटि मेघना गुल्जारको 'तलवार' (२०१५) मा सँगै काम गरे।
सन् २००८ मा दिल्लीमा भएको आरुषी तलवार–हेमराज बञ्जाडे हत्याकाण्डमा आधारित यो फिल्ममा इरफानले इमानदार र प्रतिबद्ध सरकारी अनुसन्धान अधिकृतको भूमिका गरेका थिए।
यसरी आफ्नो करिअर–ग्राफमा विस्तारै माथि उक्लिरहेका इरफानले केही ठूला बलिउड फिल्ममा पनि काम गरे। तीमध्ये विशाल भारद्वाजको 'हैदर' र निखिल आडवाणीको 'डी–डे' प्रमुख हुन्।
यता बलिउडमा लगातार हिट फिल्म दिइरहेका इरफानको चर्चा हलिउडमा पनि फैलिँदै थियो।
उनले सन् २००८ को ओस्कार विजेता 'स्लमडग मिलेनियर' देखि 'द अमेजिङ स्पाइडरम्यान' (२०१२), 'लाइफ अफ पाई' (२०१२), 'जुरासिक वर्ल्ड' (२०१५) र 'इन्फर्नो' (२०१६) मा काम गरे।
यति मात्र होइन, इरफान 'एचबीओ' टेलिभिजनको शृंखला 'इन ट्रिटमेन्ट' को तेस्रो सिजन र जापानको मिनी–सिरिज 'टोकियो ट्रायल' मा पनि महत्वपूर्ण भूमिकामा देखिए।
'इरफान यस्ता व्यक्ति हुन्, जो सधैं नयाँ–नयाँ चुनौती लिइरहन चाहन्छन्,' लेखक तथा निर्माता शैलजा केजरीवालले इरफानको जीवनीका निम्ति असीम छाब्रासँग भनेकी थिइन्, 'हरेकचोटि नयाँ भूमिकाको प्रस्ताव आउनेबित्तिकै उनी उत्साहित हुँदै भन्थे– ओहो, यस्तो खालको भूमिका त मैले कहिल्यै गरेको छैन। यसपालि केही नयाँ गरूँ।'
उनी एउटा भूमिकामा स्थापित भएपछि त्यसैमा रमाइरहने स्वभावका थिएनन्। नयाँ—नयाँ भूमिका स्वीकारेर नयाँ–नयाँ चुनौती लिइरहन चाहन्थे।
पहिलोचोटि हलिउड फिल्मको प्रस्ताव आएपछि उनले भनेका थिए, 'हलिउड फिल्म कहिल्यै गरेको छैन, यसपालि यो पनि गरेर हेरूँ।'
करिअरको उत्कर्षमा लम्किरहेका बेला पनि उनले आफ्नो पुरानो रणनीति छाडेनन्। कलात्मक र व्यावसायिक दुवै खालका सिनेमामा सँगसँगै काम गरे। सन् २०१५ मा बनेको 'किस्सा' र २०१७ को 'द सङ अफ स्कोर्पियन्स' यसैका उदाहरण हुन्। यी दुवै फिल्म अनुप सिन्हाले बनाएका थिए।
यसबीच इरफान आफैं फिल्म निर्माण गर्न पनि हौसिए। उनले २०१६ मा 'मदारी' र २०१७ मा बंगलादेशी ड्रामा 'डुब' बनाए।
फिल्म निर्माणमा हात हालेपछि धेरैले इरफान अब लेखन र निर्देशन पनि गर्न सक्छन् भनेका थिए। 'मदारी' रिलिज हुनुअघि उनले एक अन्तर्वार्तामा भने, 'म लेख्न सक्ने भइदिएको भए कलाकार बन्ने थिइनँ।'
उनले अगाडि भने, 'म निर्देशक पनि बन्न सक्दिनँ, किनभने निर्देशक बन्न एकै समयमा धेरैवटा काम गर्ने खुबी हुनुपर्छ। ममा त्यस्तो खुबी छैन। म एउटा समयमा एउटा मात्र काम गर्न सक्छु।'
पछिल्ला वर्षहरूमा इरफानले 'लाइफ ... इन अ मेट्रो' को झझल्को आउने गरी विनोदपूर्ण भूमिका गर्न थालेका थिए, जसमा कमेडी, रोमान्स र ड्रामाको मिसमास होस्।
यही क्रममा उनले सुजित सिरकरको 'पिकू' (२०१५) मा दीपिका पादुकोणसँग काम गरे, जसमा उनले पहिलोपटक अमिताभ बच्चनसँग एउटै स्क्रिन 'सेयर' गर्ने मौका पाए। अमिताभसँग एउटै फ्रेममा देखिँदा पनि इरफान कहीँकतै कमजोर थिएनन्।
यसबाहेक उनले तनुजा चन्द्राको 'करिब करिब सिंगल' (२०१७), आकर्ष खुरानाको 'कारवां (२०१८) मा काम गरे।
एकपछि अर्को हिट फिल्म दिइरहेका बेला अचानक इरफानको जिन्दगीमा अवरोध बनेर आयो, उनको स्वास्थ्य।
सन् २०१८ जुनमा आफ्नो स्वास्थ्य स्थितिबारे 'टाइम्स अफ इन्डिया' सँग उनले भनेका थिए, 'मलाई यस्तो अनुभव भइरहेको छ, मानौं म समुद्रमा तैरिरहेको 'कर्क' हुँ, जसको भविष्य समुद्रको छालमा निर्भर गर्छ। म समुद्रको छालसँग जुधेर आफ्नो गति नियन्त्रण गर्ने कोशिस गर्दैछु।'
यसपालि छाल यस्तरी उर्लियो, इरफानले आफ्नो जिन्दगी थामेर राख्न सकेनन्। हरेक चुनौती आँखा खोलेर सामना गर्ने इरफान मृत्युको चुनौतीमा भने पराजित भए।
त्यो पनि यस्तो समयमा, जब उनी आफ्नो करिअरको उत्कर्षमा पुगिसकेका थिएनन्। उनको रफ्तार हेर्दा, जिन्दगीले अल्पायुमै साथ नछाडेको भए उनी त्यो मुकामसम्म पुग्न सक्थे।