भारतमा गोरो बनाउने उत्पादनको विज्ञापन खेल्ने तर अमेरिकाको 'ब्ल्याक लाइभ्स म्याटर' आन्दोलनमा समर्थन गर्ने भन्दै कंगना रनौतले बलिउड सेलिब्रेटीको आलोचना गरेकी छन्।
कंगना अघि अभिनेता अभय देवलले पनि बलिउडकर्मीको यस किसिमको चरित्रलाई 'पाखण्डीपना' भएको भन्दै आलोचना गरिसकेका छन्।
बिबिसीसँग कुरा गर्दै कंगनाले यो सेलिब्रेटीको दोहोरो चरित्रको आलोचना गरेकी हुन्।
'भारतीय सेलिब्रेटीहरूले हरेक प्रकारका गोरो बनाउने सामानको विज्ञापन गर्दै आएका छन् तर आज उनीहरू लाजै नमानी 'ब्ल्याक लाइभ्स म्याटर' भन्दै समर्थन गरिरहेका छन्, मेरो मतलव, उनीहरू यस्तो हिम्मत कसरी गर्छन्? हाम्रो उद्योगमा श्यामल वर्ण भएकालाई कलाकार बनाउन हिच्किचाइन्छ, उनीहरू गोरो हुनुपर्ने अपेक्षा गरिन्छ', कंगनाले भनिन्, 'किन कसैले उनीहरूलाई गोरो बनाउने उत्पादनको प्रायोजन गर्दा उनीहरूले लिने करौडौं डलर रकमको बारेमा प्रश्न गर्दैन। कसरी अचानक उनीहरूलाई काला जातिको जीवनले अर्थ राख्छ भन्ने लाग्न थाल्छ। रंगभेदको जरा गहिरो छ र तिनको व्यवसायिकीकरणले मानवतालाई नराम्ररी चोट दिन्छ।'
प्रियंका चोपडा, दीशा पटानी र सोनम कपुर जस्ता अभिनेत्रीले 'ब्ल्याक लाइभ्स म्याटर' अभियानमा समर्थन गरेका छन्।
उनीहरूको विगत गोरो बनाउने उत्पादनहरूको प्रायोजन गरेकोमा चर्को आलोचना भइरहेको छ।
कंगनाले भने यस्ता उत्पादनहरूको कहिल्यै प्रायोजन गर्ने गरेकी छैनन्।