६ वर्षको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका रणवीर सिंह र दिपिका पादुकोण जोडी बलिउडको आदर्श जोडीका रुपमा हेरिन्छ।
उनीहरू १४ नोभेम्बर २०१८ मा इटालीमा विवाह बन्धनमा बाँधिएका थिए।
हाल उनीहरूको वैवाहिक जीवन खुशीमै बितिरहेको छ। बलिउड अभिनेता रणवीरले हरेकपटक दिपिकाको चर्चा हुँदा उनको खुलेर प्रशंसा गर्छन्।
एक अन्तरवार्तामा उनले दिपिकाले आफूलाई तीनवटा काम गर्न रोक लगाएको खुलासा गरेका थिए।
'धेरै नै ढिला भएको अवस्थामा बाहेक दिपिकाले मलाई राति घर बाहिर बस्न रोक लगाएकी छन्। यसैगरी खाना नखाइ घरबाट ननिस्कने र फोन कल मिस नगर्ने भन्ने छ', रणवीरले भने।
उनले दिपिकाको यस सर्तको पालना गर्दै आइरहेको बताएका छन्।
पत्नीको रूपमा दिपिका आफ्नो जीवन आउनुलाई रणवीरले जीवनको एउटा छुटाउन नहुने खुशी भएको बताउँदै आएका छन्।
रणवीरका अनुसार दिपिकाको स्वभाव एकदमै घरेलु छ र उनले सबैको रेखदेख गर्छिन्। दिपिका राम्रो गृहिणीसमेत भएको रणवीरको भनाइ छ।
'दिपिका घरमा अप्सरा जसरी बस्दिनन्, उनी एकदमै साधारण भएर बस्छिन्। मलाई दिपिकाको सबै कुरा राम्रो लाग्छ', रणीवीरले भने।
रणवीर-दिपिकाको जोडी सिनेमाको पर्दामा पनि उत्तिकै लोकप्रिय छ।
उनीहरूले 'गोलियोंकी रास लीला राम लीला', 'बाजिराव मस्तानी' तथा 'पद्मावत' सिनेमामा एकसाथ काम गरेका छन्।
अब उनीहरूको जोडी पूर्व भारतीय क्रिकेट कप्तान कपिलदेवको जीवनीमा आधारित '८३'मा देखिनेछ।