बलिउड स्टारहरूको असामयिक निधनले समाजलाई अक्सर तरंगित बनाउँछ। सुशान्त सिंह राजपुतको निधनलाई पनि धेरैले धेरै अर्थमा व्याख्या गरेका छन्।
आइतबार आफ्नै कोठामा मृत फेला परेका यी ३४ वर्षीय अभिनेताको ‘आत्महत्या’ लाई बलिउडमा फैलिएको नातावाद, त्यसको चपेटमा परेको करिअर र खल्बलिएको मानसिक स्वास्थ्यसँग जोडेर हेरिएको छ।
बाहिरबाट चमकदमक देखिने बलिउड स्टारहरूको जीवनलाई भित्रभित्रै निराशा, एक्लोपन र भयले गाँजेको हुन्छ भन्ने विगतका थुप्रै उदाहरणले देखाउँछन्। कोही करिअरले गति समात्न नसकेको चिन्तामा डुब्छन्। कोही उचाइमा पुगेको करिअर धर्मराउन थालेपछि असन्तुलित हुन्छन्। कोही भने ‘रियल’ र ‘रिल’ जीवनबीच सन्तुलन मिलाउन नसकेर लर्खराउन थाल्छन्।
हुन त यस्तै असहज स्थिति अरू क्षेत्रमा पनि भोग्नु नपर्ने होइन। तर, अरू क्षेत्रमा मान्छेलाई आफ्नो हिसाबले स्वाभाविक भएर बाँच्ने छुट हुन्छ। बलिउडकर्मीहरूले त्यो छुट पाउँदैनन्।
संसारको आँखा आफूतिर सोझिएका बेला मन जतिसुकै डढे पनि अनुहार तेजिलो पार्नैपर्छ। जिन्दगी जतिसुकै अँध्यारो भए पनि सिनेमाको चम्किलो लाइटमुनि उभिँदा संसारले देख्ने बाहिरी आवरण उज्यालो बनाउनैपर्छ। भित्र र बाहिरको असन्तुलनलाई सन्तुलनमा राख्नु सबैको वशको कुरा होइन।
सुशान्तको मृत्युपछि धेरै अभिनेताले बलिउडको यही कटु यथार्थ जाहेर गरेका छन्।
भित्री र बाहिरी जिन्दगीको असन्तुलनले उत्पन्न गराउने ‘डिप्रेसन’ सँग लड्दै कसरी बाँच्ने र मनमा आत्महत्याको सोच आयो भने कसरी त्यसलाई परास्त गर्ने भनी उनीहरूले सुझाएका छन्।
सिनेमाको पर्दामा नाटकीय जीवन सँगसँगै बाँच्ने कलाकारहरूले आफ्ना सहकर्मीको वास्तविक जीवनलाई पनि कहिलेकाहीँ ध्यान दिएर हेर्नुपर्ने र कोही डिप्रेसनको शिकार भएका छन् भने सघाउनुपर्नेमा उनीहरूको जोड छ।
सुशान्त पनि डिप्रेसनको उपचार गराइरहेका थिए भनी सञ्चारमाध्यमहरूले लेखेका छन्।
यो बहसमा भाग लिएका बलिउड सेलेब्रिटी र अन्य पेसाकर्मीहरूले एउटा सन्देश भने प्रस्ट रूपमा दिएका छन्– यहाँ कसैले पनि, कहिले पनि म एक्लो छु भन्ने महशुस नगरून्।
अभिनेत्री दिपिका पादुकोणले #युआरनटअलोन (तिमी एक्लो छैनौ) भन्दै ट्वीट गरेकी छन्– ‘मानसिक समस्याबाट गुज्रिएको व्यक्तिका रूपमा म आफ्नो कुरा बाँड्नुपर्छ भन्नेमा जोड दिन्छु। मान्छेसँग कुरा गर, भावना साट, आफूलाई पोख र अरूको मद्दत लिऊ।’
उनी अगाडि लेख्छिन्, ‘याद राख, तिमी एक्लो छैनौ। हामी तिम्रो साथ छौं। र, तिमीसँग आशा पनि छ।’
दिपिकाले केही समयअघि एक अन्तर्वार्तामा आफू ‘डिप्रेसन’ को शिकार भएको सार्वजनिक गरेकी थिइन्। उक्त मानसिक दौरबाट बाहिर आउन निकै गाह्रो परेको उनले बताएकी थिइन्। सुशान्तको मृत्युपछि दिपिकाले डिप्रेसनको शिकार आफ्ना सहकर्मीहरूलाई मनको उकुसमुकुस गुम्स्याएर नराख्न अपिल गरेकी छन्।
सुशान्त पनि एक्लै गुम्सिएर नबसेका भए आज उनी हामीबीच हुन्थे कि!
बलिउडमा कम समयमै लोकप्रिय बनेका प्रतिभाशाली कलाकार सुशान्तले सन् २०१९ को सुपरहिट फिल्म खेलेका थिए– नितिश तिवारीको ‘छिछोरे’। त्यसै वर्ष अभिषेक चौबेको ‘सोनचिडियाँ’ मा पनि उनको अभिनयको तारिफ भएको थियो। लगत्तै नेटफ्लिक्सको ‘ड्राइभ’ भने कसैले रुचाएनन्।
सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ रिलिज हुन बाँकी छ, जसमा उनले क्यान्सर बिरामीको भूमिका गरेका छन्।
उनको मृत्युपछि जुन ढंगले समाचार आयो, त्यसले मिडियाको रिपोर्टिङमाथि पनि प्रश्न उठाएको छ। कतिपय टेलिभिजन च्यानलले विभिन्न फिल्ममा सुशान्तले निर्वाह गरेको भूमिकालाई उनको व्यक्तिगत जिन्दगीसँग जोडेर समाचार बनाए।
खासगरी उनका अघिल्ला सुपरहिट फिल्महरू ‘काई पो चे’ (२०१३) र भारतीय क्रिकेट खेलाडी एमएस धोनीको जीवनमा आधारित ‘एमएस धोनीः दी अनटोल्ड स्टोरी’ (२०१६) मा सुशान्तले गरेको भूमिकालाई उनको जिन्दगीसँग दाँजेर हेरिएको थियो।
कतिपय मिडियाले त सुशान्तको घरभित्रै छिरेर शोकाकूल वृद्ध बाबुका अगाडि माइक तेर्स्याउँदै प्रश्न बर्साएका थिए। यस्तो प्रवृत्ति भारतीय मिडियाका लागि नयाँ भने होइन।
फरक यत्ति हो, सुशान्तलाई मन पराउने उनका ‘फ्यान’हरूले कम्तिमा यस्तो दुःखको घडीमा मिडियाले संवेदनशीलता देखाउला भन्ने आश गरेका थिए।
सुशान्तको मृत्युलाई लिएर बलिउडमा तरह–तरहको अड्कलबाजी छ। धेरैले उनको असामयिक निधनलाई कठिन संघर्ष गरेर बलिउडमा पाउ जमाएका एक होनहार युवाको ‘सपनाको अन्त्य’ भनेका छन्। यसको पछाडि कारण छ।
बलिउड यस्तो ठाउँ हो, जहाँ पारिवारिक विरासत र सम्बन्धको डोर समातेर आएकाहरूले चाँदीको चम्चामा अवसर पाउँछन्। करिअर जम्ने कि नजम्ने आफ्नो ठाउँमा छ, तर पहिलो मौका पाउन प्रोडक्सन कम्पनीको चक्कर काट्नुपर्दैन।
सुशान्त भने त्यस्ता कलाकार हुन्, जसले टेलिभिजनबाट अभिनय यात्रा सुरू गरे। बलिउडमा न कसैसँग उनको सम्बन्ध थियो, न उनी कुनै स्थापित निर्देशकको समूहभित्रै पर्थे। बिहारको पूर्णिया जिल्लाबाट आएका उनले आफ्नै प्रतिभा र मिहिनेतको दममा सफलताको बाटो खनेका हुन्।
यस्ता कलाकारहरूलाई गल्ती गर्ने छुट हुँदैन। फिल्म हिट हुञ्जेल त सबै वरिपरि नै रहन्छन्, तर जसै कुनै फिल्म फ्लप हुन्छ, उनीहरूलाई फेरि करिअर उठाउन गाह्रो पर्छ। बिग्रेको करिअर सपार्ने र फेरि सही बाटोमा ल्याइदिने ‘गडफादर’ उनीहरूसँग हुँदैन। यसले करिअरको हरेक मोडमा चनाखो, सतर्क र सन्तुलित रहनुपर्ने दबाब पर्छ।
यही अवस्थालाई अभिनेत्री कंगना रणावतले बलिउडको ‘नातावाद’ भनेकी हुन्।
सन् २०१७ मा करण जौहरको ‘कफी विथ करण’ कार्यक्रममा उनले पहिलोपटक यो विषय जोडदार ढंगले उठाएकी थिइन्। त्यसपछि त आफ्ना हरेकजसो अन्तर्वार्ता र सामाजिक सञ्जालमा उनले बलिउडको नातावादमाथि औंला उठाउँदै आएकी छन्।
सुशान्तको मृत्युपछि पनि उनले यसबारे टिप्पणी गर्दै भिडियो सार्वजनिक गरेकी थिइन्। नातावाद र समूहवादको जालोले बलिउडमा नयाँ प्रतिभाको प्रवेशलाई कठिन बनाइदिन्छ भन्ने उनको आरोप छ।
कंगनाले उठाएको मुद्दा महत्वपूर्ण छ, तर जटिल पनि छ। किनभने, नातावाद हुँदै नभएको होइन, तर नयाँ प्रतिभाले बलिउडमा स्थान नै नपाउने पनि होइन।
नातावादका कारण लगातार फिल्म पाइरहेका कलाकार थुप्रै छन्, त्यहीँ अर्कातिर आफ्नै दममा सडकबाट उठेर सेलेब्रिटी बनेकाहरू पनि कम छैनन्। सुशान्त सिंह राजपुत त्यसैमध्ये एक हुन्।
उनलाई टेलिभिजनमा ‘ब्रेक’ दिने श्रेय भारतकी ‘सोप–अपेरा क्वीन’ एकता कपुरलाई जान्छ।
एकताको बालाजी टेलिफिल्म्सले निर्माण गरेको टेलिशृंखला ‘पवित्र रिश्ता’ बाट सुशान्त यो क्षेत्रमा प्रवेश गरेका हुन्। यो शृंखला २००९ देखि २०११ सम्म चलेको थियो।
उनको फिल्म ‘डेब्यू’ भने अभिषेक कपुरको ‘काई पो चे’ (२०१३) बाट भयो। सुशान्तले आफ्नो छोटो करिअरमा बलिउडका केही स्थापित पारिवारिक ‘फिल्म स्टुडियो’ देखि ‘बाहिरी’ फिल्म–निर्देशकहरूसँग बराबर काम गरे।
उनको ‘शुद्ध देशी रोमान्स’ (२०१३) र ‘डिटेक्टिभ बोम्केश बख्शी’ (२०१५) यशराज फिल्म्सले निर्माण गरेका हुन् भने २०१४ को सुपरहिट ‘पिके’ विनोद चोपडाको फिल्म हो, जसका निर्देशक राजकुमार हिरानी हुन्।
अरू धेरै कलाकारजस्तो उनको फिल्मी करिअरमा पनि उतारचढाव देखिन्छ। कुनै फिल्म हिट भएका छन्, कुनै चलेनन्। कुनै फिल्ममा उनले तारिफ पाए, कुनैमा कसैले वास्ता गरेनन्। यो बलिउडमा उनीभन्दा स्थापित कलाकारहरूको निम्ति पनि सामान्य कुरा हो। करिअरको उतारचढावसँग सायद सुशान्त पनि परिचित थिए।
त्यसो भए उनको मानसिक स्थिति खल्बलिनुको कारण के थियो त?
धेरैले उनका पछिल्ला अन्तर्वार्ताहरू हेरेर मानसिक स्थिति आकलन गर्न खोजेका छन्। तर, बलिउडका यस्ता अन्तर्वार्ता सतही हुन्छन्।
खासगरी फिल्म रिलिज हुनुअघि प्रचारप्रसारको उद्देश्यले लिइने अन्तर्वार्तामा न गम्भीर प्रश्न सोधिन्छ, न उत्तर दिनेहरू गम्भीर देखिन्छन्। फिल्मको विषयवस्तु, पात्र र जिन्दगीका हल्काफुल्का कुरामै अन्तर्वार्ता सकिन्छ।
त्यस्ता अन्तर्वार्तामा प्रायः त्यही देखाइन्छ, जो दर्शक हेर्न चाहन्छन्। मनपर्ने कलाकारको मुखबाट जे सुन्दा दर्शक रमाउँछन्, त्यही बोल्न लगाइन्छ। यसले रिलिज हुन लागेको फिल्मको व्यापार बढ्ने आश हुन्छ।
यति मात्र होइन, प्रायः अन्तर्वार्ता कलाकारको अन्तरहृदय खोतल्ने उद्देश्यले गरिएको पनि हुँदैन। फिल्मका निर्माता र धेरैजसो अवस्थामा प्रचार विभागले त्यसको व्यवस्थापन गर्छन्। अन्तर्वार्ताअघि नै दुवै पक्षलाई भनिएको हुन्छ– ‘पन्ध्र मिनेटभन्दा बढी समय लाग्दैन।’
त्यसैले त, अक्सर बलिउडका अन्तर्वार्ता ‘रोबोट’ हरूको गफगाफजस्तो सुनिन्छ।
यसमा मिडियाको मात्र दोष छैन। कलाकारहरू आफैं पनि व्यक्तिगत जिन्दगीलाई लिएर खुल्न चाहँदैनन्। आफ्नो मानसिक असन्तुलन, आर्थिक समस्यादेखि पारिवारिक तनाव र करिअरको दबाबबारे खुलेर बोल्नु ‘फ्यान’ भड्काउनु हो भन्ने उनीहरू ठान्छन्।
सिनेमाका माध्यमबाट जुन दैवी छवि स्थापित गरिएको हुन्छ, त्यसलाई अन्तर्वार्ता र व्यक्तिगत जिन्दगीमा हुबहु राख्न खोजिन्छ। छवि बनाउने धूनमा यथार्थसँग सम्झौता गरिन्छ। यसले वास्तविक र छद्म जिन्दगीबीचको तनाव झनै बढ्छ।
यस्तोमा कलाकारहरूसँग अन्तर्वार्ता लिने पत्रकारले छिपछिपे कुराकानी गरेर झारा टार्नुको साटो अन्तरंग वार्ता गर्न सक्छन्। सेलेब्रिटीको जिन्दगीलाई समाचार बिकाउने मसला बनाउनुको साटो उनीहरूको जिन्दगीको तनाव हल गर्ने सेतु बन्न सक्छन्।
तर, बलिउडमा सिनेमाको मात्र होइन, पत्रकारिताको पनि रफ्तार बढेको छ।
धीर भएर, शान्त भएर कुरा गर्ने, कुरा बुझ्ने, समस्या परख्ने र सही ढंगले प्रस्तुत गर्ने फुर्सद कसैलाई छैन।
यसरी एकातिर सेलेब्रिटीहरूमा भरसक आफ्नो कुरा लुकाउने प्रवृत्ति छ भने अर्कातिर पत्रकारहरू पनि पाएको सूचनालाई मसालेदार बनाउने धूनमा छन्। यो दुरीले सेलेब्रिटीहरू भित्रभित्रै गुम्सिरहन्छन्। उनीहरूलाई मनको कुरा पोख्ने ठाउँ हुन्न।
कतिपय कलाकार यो स्थितिका बाबजुद आफूले झेलिरहेको समस्यामा खुलेर प्रस्तुत भएका छन्। मनमा चलेको अन्तरद्वन्द्व मिडियालाई भन्छन्। मिडिया सुन्न तयार नभए सामाजिक सञ्जालमार्फत् जनतासम्म पुग्छन्। दिपिका पादुकोण, कंगना रणावत तिनैमध्ये हुन्।
मान्छेले आफ्नो मनको उफान जति बाँड्छ, त्यसको हलचल उति कम हुँदै जान्छ। यसले जीवनको सन्तुलन कायम राख्न मद्दत गर्छ।
नभए बलिउडको चकाचौंधका पछाडि यहाँ हरेक सेलेब्रिटी मुकुन्डो लगाएर बसेका छन्। मुकुन्डोभित्रको वास्तविक अनुहार कसैले चिनेको हुँदैन। चिन्ने प्रयन्त पनि कसैले गर्दैन। कुनै अप्रिय घटना नभई न यस्ता कुरामा बहस नै हुन्छ।
सुशान्त सिंह राजपुतको असामयिक मृत्युले जन्माएको बहस त्यसैको कडी हो।
(स्क्रोल डटइनमा प्रकाशित समाचारबाट भावानुवाद)